वरिष्ठ नेता नेपालकोे चेतावनी : दुई अध्यक्ष मिल्दैमा समस्या हल हुन्छ भन्ने नबुझौं

‘अहिलेको समस्या दुई अध्यक्षको मात्रै होइन, पार्टीको हो’


१४ मंसिर २०७७, आईतवार
Madhav Nepal ex PM scaled

काठमाडौं, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्ष मिल्दैमा पार्टीभित्रको समस्याहरु सबै हल हुन्छ भन्ने नबुझ्न चेतावनी दिएका छन् ।

‘दुई अध्यक्ष मिले भइगो नि’ भन्ने बुझाइकै कारण पार्टीभित्र बारम्बार समस्या देखिएको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टीभित्रकाे विवाद प्रक्रियागत र कमिटीहरुबाटै हल हुनुपर्ने बताएका छन् ।

हिजो (शनिबार) को सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) मिल्नुपर्ने भनी महासचिव विष्णुप्रसाद पौडेलले राखेको प्रस्तावको जवाफमा नेता नेपालले भने ‘एकता जोगाउनेबारे कार्यकर्तामा चिन्ता छ, तर समस्या हल गर्न दुई अध्यक्ष मिलेर मात्रै पुग्दैन ।’

प्रचण्डले सचिवालयमा पेस गरेको प्रस्तावको ओलीले जवाफ फर्काएपछि अब दुई अध्यक्ष मिलेर विवादलाई समाधान गर्नुपर्ने नेताहरुले बताइरहेका बेला वरिष्ठ नेता नेपालले यतिले मात्र पार्टीभित्रको यतिका विवाद हल हुन नसक्ने स्पष्ट पारेका हुन् ।

नेता पनि नेपालले अहिले देखिएको समस्या दुई अध्यक्षको मात्रै नभएर पार्टीकै भएको बताउँदै भने, ‘पार्टी कमिटीले निर्णय गरेर समस्या हल हुन्छ, कुनै व्यक्तिहरु मिलेर मात्रै हुँदैन’, नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

विगतमा माइन्युट च्यात्नेसम्मको काम बैठकमै भएको सम्झाउँदै नेपालले भनेका छन्, ‘बैठकले निर्णय गर्ने भएपछि नेतृत्वले माफी माग्छु भन्दा समेत माफी नदिएर कारबाही गरिएको थिएन ? पार्टी त फुटेको थिएन ।’ अहिले पनि अमूक व्यक्तिको कारण पार्टी नफुट्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीकै कारण पार्टीमा संकट आएको नेता नेपालले स्पष्ट पारेका छन्। ‘बैठक बस्नु पर्‍यो भन्दा अध्यक्ष (ओली) ले पदलोलुपको आरोप लगाएर पत्र लेख्न मिल्थ्यो ? बैठक बोलाएको भए कुरै सकिन्थ्यो’, नेपालले भनेका थिए । अब पार्टी कमिटीले गर्ने निर्णय दुई अध्यक्षले मान्नुको विकल्प नभएको उनको भनाइ छ ।

नेता नेपालले पार्टीभित्र आफूले नोट अफ डिसेन्ट लेखेको र बहुमतले निर्णय लिएको बिर्सन नमिल्ने बताएका छन् । ‘मैले असहमति जनाएर नोट अफ डिसेन्ट लेख्दा तपाईंहरुले बहुमतको आधारमा निर्णय लिएको होइन ? आज बहुमतले निर्णय गर्न किन नहुने ?’ उनले प्रश्न गरेका छन् ।

गएको साउनमा पनि ओली र प्रचण्ड बीच अनौपचारिक सहमति जुटेपछि नै कार्यदलमार्फत् सहमतिको १५ बुँदे प्रस्ताव तयार पारिएको थियो । जसलाई भदौ २६ मा बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको थियो ।

यता ओलीले हिजो राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्ताव खारेज गरी भदौं २६ को निर्णयमा फर्किनु पर्ने प्रस्ताव गरेका छन् ।

यता अध्यक्ष प्रचण्डले ओलीले राजनीतिक प्रस्तावमा एक ठाउँ पनि आफूबाट कमजोरी भएको स्वीकार नगरेको बरु उस्तै अहम देखाएको बताएका छन् । आउँदो वैठक मंसिर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७