परियोजनामा चीनको चासो


१५ मंसिर २०७७, सोमबार
Chinese State Councillor and Defence Minister Wei Fenghe and Nepali PM KP sharma Oli Nepal

काठमाडौं, १५ मंसिर । एक दिने ‘वर्किङ भिजिट’मा आइतबार नेपाल आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेले जंगीअड्डामा झण्डै तीन घण्टा बिताए ।

त्यसपछि फेङहे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गए। त्यहाँबाट शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे । फेङहेले आफ्ना राष्ट्रपति सी जिनपिङले पठाएको अभिवादन र शुभेच्छासहितको सन्देश सुनाए । उनले दुई मुलुकबीच सम्झौता भएर पनि कोरोना भाइरसका कारण रोकिएका विकासका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपाल–चीनबीच विगतमा भएका सम्झौता विभिन्न कारण कार्यान्वयन हुनबाट रोकिएका छन् । फेङहेले ती कामलाई शीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएको स्रोत बताउँछ । चिनियाँ बीआरआई परियोजनामा सूचीकृत भएका नेपालका योजना प्रभावकारी रूपमा कार्यान्वयन नभइरहेको अवस्थामा फेङहेले ती योजनाप्रति लक्ष्य गरी कार्यान्वयनका लागि राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको सम्मान गर्दै आएकामा चीनको सराहना गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘साथै उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढीकरण गर्न यो भ्रमण कोशेढुंगाको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो’, विज्ञप्तिमा लेखिएको छ । रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङहेबीच नेपाली सेनालाई गर्ने सहयोग र कोरोना रोकथामका विषयमा छलफल भएको थियो ।

फेङहेले जंगीअड्डामा अभिरुचिपूर्वक नेपाली सेनाले गरेको प्रस्तुतीकरण सुनेका थिए। नेपाली सेनाको सम्मानगारत ग्रहणपछि उनी जंगीअड्डाले आयोजना गरेको औपचारिक कार्यक्रममा सरिक भएका थिए ।

उनले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रोकिएका सैन्य अभ्यास र अन्य तालिमलाई यथाशीघ्र निरन्तरता दिने आश्वासन दिएका छन् । जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा उनले कोरोना भाइरस संक्रमणका कारण रोकिएको सैन्य अभ्यास यथाशीघ्र सुचारु गर्ने प्रतिबद्धता जनाएका हुन् ।

फेङहे र प्रधानसेनापति थापा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने विषयमा पनि सहमत भएका छन् । द्विपक्षीय हितका लागि सैनिक सहकार्यलाई बढाउन पनि सहमत भएको जनाइएको छ । विगतमा भएका सैनिक सहायता र त्यसको कार्यान्वयनबारे पनि छलफल भएको थियो ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसिप नाम दिइएको संयुक्त सैन्य अभ्यास हुँदै आएको छ । दुई सेनाबीचको सैन्य अभ्यास प्रतिआतंकवाद र विपद व्यवस्थापनमा केन्द्रित हुँदै आएको छ । कोरोना भाइरस संक्रमणका कारण चीनसँगको संयुक्त सैन्य अभ्यास रोकिएको छ ।

प्रधानसेनापति थापासँगको औपचारिक भेटवार्तापछि दुई पक्षबीच द्विपक्षीय हितबारे छलफल भएको थियो । छलफलका क्रममा फेङहेले नेपाली सेनालाई दिने सैन्य सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चिनियाँ पक्षले प्राथमिकतासाथ यहाँ र यहाँबाट चीनविरोधी हुने गतिविधिबारे चासो राखेको स्रोतले बताएको छ । नेपालले एक चीन नीति अंगीकार गर्दै आएको छ । एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाउँदै चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने जवाफ नेपाली सेनाले रक्षामन्त्री फेङहेलाई दिएको छ ।

भारतका कूटनीतिज्ञ र सुरक्षा निकायका प्रमुखले नेपाल भ्रमणका क्रममा यहाँ चिनियाँको उपस्थितिबारे चासो राखेपछि चीन थप सशंकित देखिएको छ । भारतीय गुप्तचर रअ प्रमुख सामान्त गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरवणे र भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगलाको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री फेङहेको नेपाल भ्रमण भएको हो ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौड्यालले चिनियाँ रक्षामन्त्री फेङहेको भ्रमणले दुई मुलुकका सेनाबीच रही आएको सम्बन्धलाई थप सुमधुर, मजबुत र सम्बन्ध विस्तारका लागि मद्दत पुग्ने नेपाली सेनाको विश्वास रहेको बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७