साझा र विवेकशील एकता : रवीन्द्र अध्यक्ष र मिलन संयोजक

चुनाव चिन्ह्मा यस्तो सहमति


१५ मंसिर २०७७, सोमबार
rabidra milan 0cuwO7Oz2w

काठमाडौं १५ मंसिर । साझा र विवेकशील पार्टीबीचको एकता प्रक्रिया टुंगोमा पुर्‍याउन दुवै पार्टी छलफलमा जुटेका छन् । प्राय विषयहरुमा सहमति भइसकेको र अब एकता घोषणाको अन्तिम तयारी भइरहेको दुवै पार्टीका शीर्ष नेताहरुले जानकारी दिएका छन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति भएको छ भने चुनाव चिन्ह तराजु हुने जनाइएको छ । यसअघि साझाको तराजु र विवेकशीलको मुस्कानसहितको मुखाकृत चुनाव चिन्ह रहेको थियो ।

यसअघि नै दुबै पार्टीले एकीकरणका लागि वार्ता समिति गठन गरी छलफल अघि बढाएका थिए । करिब सबै कुरामा सहमति भइसकेको र आगामी हप्ता पुनः एकीकरण घोषणा गर्ने तयारी अन्तिम चरणमा रहेको विवेकशीलका एक केन्द्रीय नेताले जानकारी दिएका छन् ।

एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी गत असारदेखि फेरि एकता प्रयासमा फर्केका थिए । साझाले केन्द्रिय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ भने विवेकशीलले आफ्नो तल्ला कमिटीहरुसम्म नै प्रस्तावमाथि मतदान गराएको थियो । पार्टीका दुई तिहाई सदस्यले एकताको प्रस्तावमा मतदान गरेका छन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष बन्ने अनौपचारिक समझदारी बनेको स्रोतले बताएको छ । यसैगरी विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने स्रोतको दावी छ ।

यसअघिको एकता प्रस्तावमा दुई संयोजक रहने भनिएको थियो । तर, यसले राम्रो सन्देश नजानसक्ने भन्दै अध्यक्ष र संयोजकको नयाँ समझदारी गरिएको हो । यस समझदारीअनुसार पहिलेको प्रस्तावमा संसोधन गरेर साझाले केन्द्रीय कमिटीबाट पारित गराइसकेको छ भने विवेकशीलले पारित गर्न बाँकी छ ।

विवेकशीलका एक नेताले अध्यक्षलाई बढि सेरेमोनियल खालको र संयोजकलाई कार्यकारी भूमिका दिने गरी सहमति हुन सक्ने बताए । ‘तर, अन्तिम सहमति हुन बाँकी भएकाले यसै हुन्छ भन्न सकिँदैन,’ उनले भने । साझा पार्टीका एक नेताले भने अध्यक्षमै कार्यकारी अधिकार निहीत रहने दाबी गरे ।

एकीकृत पार्टीका सैद्धान्तिक विषयहरुलाई एकता महाधिवेशनबाट टुंग्याउन दुवै दल तयार भएका छन् । साझाकी नेतृ समीक्षा बास्कोटाले नेतृत्वलगायतका सबै विषयमा सहमति नजिक पुगेको बताइन् । पार्टीका विभिन्न कमिटीहरुलाई बराबरीको सिद्धान्तका आधारमा समायोजन गरिने उनको भनाइ छ । बास्कोटा भन्छिन्, ‘सबैतिर हार्ड एन्ड फास्ट ५०–५० प्रतिशत नै त नहोला, तर बराबरीका आधारमा गर्ने सैद्धान्तिक सहमति छ ।’

हाललाई दुवै पार्टीले बोकेका नीति–सिद्धान्तलाई स्वीकार्ने सहमति छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा दुई पार्टीबीच केही मत भिन्नता छ । यी एजेन्डाहरुमाथि जनमत संग्रह गर्नुपर्ने पक्षमा साझा छ भने विवेकशील वर्तमान संविधानलाई नै स्वीकार्नुपर्ने पक्षमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७