धुम्बाराहीमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा सर्‍यो

प्रचण्डले ओलीलाई जवाफ दिंदै


१६ मंसिर २०७७, मंगलवार
Nekapa meeting baluwatar 20200922083332

काठमाडौं, १६ मंसिर । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको सारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ ।

यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले आजका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री निवासमा सारिएको हो । बैठक दिउँसो १ बजे निर्धारित समयमा नै नै बस्ने छ ।

बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको छ जानकारी दिंदै पार्टी महासचिव विष्णु पौडेलका स्वकीय सचिव यमराम पाण्डेले भेन, ‘बैठक निर्धारित समयमै बस्ने छ ।’ बैठक सार्नुको कारण भने खुलाइएको छैन ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावमाथि लिखित जवाफ दिने तयारी छ । आजको बैठकमा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेका डकुमेन्टहरुमाथि छलफल हुनेछ । शनिबारको बैठकमा ओलीले ३८ पृष्ठको डकुमेन्ट पेश गरेका थिए ।

उक्त डकुमेन्ट अध्ययन गरेर प्रचण्डले आज जवाफ दिने तयारी गरेको खुमलटार स्रोतले जनाएको छ । तर, जवाफ लिखित हुने वा मौखिक भन्ने तय भइनसकेको जनाइएको छ । स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले भने जवाफ लिखित नै हुनसक्ने बताए ।

पहिले जस्तो लामो नभए पनि टिपोटका रुपमा जवाफ आउनसक्ने सम्भावना छ । गएको कात्तिक २८ मा प्रचण्डले पेश गरेको डकुमेन्टको भने ओलीले मंसिर १३ मा लिखित जवाफ नै दिएका छन् । त्यसअघि पनि लिखित पत्रमार्फत् नै सवाल–जवाफ भएको थियो ।

यी सबै डकुमेन्टहरुमाथि छलफल शुरु हुने भएको छ । तर, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सचिवालयमा छलफल गरेपछि सबै डकुमेन्ट स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी गरेको छ । ओली पक्ष भने सचिवालयबाटै साझा प्रस्ताव लिएर स्थायी कमिटीमा जानुपर्ने पक्षमा छन् । नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७