नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु


१६ मंसिर २०७७, मंगलवार
Meeting of CPN

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

आजको वैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने जनाइएको छ । आजको बैठकमा प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने र अहिलेको गतिरोध अन्त्यका लागि एउटा निष्कर्ष निकाल्ने प्रयास हुने नेताहरुले जानकारी दिएका छन् ।

ओली सरकार र पार्टी सञ्चचालनमा असफल भएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि ओलीले पनि त्यसको जवाफ दिँदै मंसिर १३ गते ३८ पृष्ठको जवाफी प्रस्ताव ल्याएपछि त्यसलाई अध्ययन गरेर छलफल गर्नका लागि आजको बैठक राखिएको हो ।
ओलीले ल्याएको प्रतिवेदनको जवाफमा अध्यक्ष प्रचण्डका मात्रै व्यक्तिगत विषय उठाइएको भन्दै आजको बैठकमा प्रचण्ड लगायतका बहुमत सदस्यले त्यसबारेमा असन्तुष्टि जनाउने भएका छन् ।

सचिवालयका बहुमत सदस्यले दुबै प्रतिवेदनलाई स्थायी र केन्द्रीय कमिटीमा छलफल गराउनुपर्ने अडान लिएका छन् भने प्रधानमन्त्री ओली सहितका केही नेता सचिवालय बैठकबाटै समाधान गर्नुपर्ने अडानमा छन् ।

पार्टीभित्र देखिएको विवाद समाधानको पहल गरिरहेका दोस्रो तहका नेताहरुले पनि प्रधानमन्त्री र अध्यक्ष मध्ये कुनै एकबाट राजीनामा गराएर निकास निकाल्नुपर्ने पक्षमा लविङ गरिरहेका छन् ।

यस्तो छ ओली समूहको तयारी
प्रधानमन्त्री ओलीले प्रचण्डलाई बुँदाबुँदामा जवाफ दिइसकेकाले त्यसमा बहस होस् र धारणा बनोस् नै भन्ने चाहेका छन् । तल्ला कमिटीसम्म जाँदा उनले फरक पर्ने देखेका छैनन् । कम्युनिस्ट आन्दोलनभित्र ३० र ४० को दसकमा देखापरेका प्रवृत्तिको पुनरावृत्ति भएको भन्दै यसको प्रतिवाद कार्यकर्ता तहबाटै हुनुपर्ने ओलीको धारणा छ ।

तर, यो मतमा त्यहीँभित्रै पनि एकता देखिँदैन । मत विभाजनको अवस्था छ । संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल यो तर्कको विपक्षमा छन् । उनीहरू ओली–प्रचण्डको मुखको तीतो दराजमा थन्क्याएर नयाँ (साझा) प्रतिवेदन तयार पार्नुपर्ने बताउँछन् ।
यस्तो छ प्रचण्ड–नेपाल र खनाल समूहको तयारी
यता, बहुमत पक्षधर भने सचिवालय बैठकमा प्रस्तुत प्रतिवेदन जस्ताको तस्तै तलका–मातहतका कमिटीमा लैजानुपर्ने बताउँछन् । सचिवालय बैठकमा छलफल गरेर मात्रै नपुग्ने, केन्द्रीय कमिटीसम्म लैजानुपर्ने उनीहरूको मत छ ।

‘सचिवालय बैठकमा जेजस्ता प्रस्ताव, प्रत्युत्तर आएका छन्, ती सबै पार्टीका सम्पत्ति हुन् । त्यसलाई तहगत कमिटीहरूमा छलफल गर्नुपर्छ, त्यसको निष्कर्ष नै पार्टी निर्णय हुनुपर्छ’, एक सचिवालयका नेता भन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७