मदन भण्डारी फाउण्डेशन वडा तहसम्म विस्तार हुँदै


१६ मंसिर २०७७, मंगलवार
madan bhandari foundation final 2

चितवन, १६ मंसिर । मदन भण्डारी फाउण्डेशन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । फाउण्डेशनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार अभियान सञ्चालन गरेको छ ।

फाउण्डेशन जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार हालसम्म जिल्लाका राप्ती, खैरहनी र कालिका नगर कमिटी तथा क्षेत्र नं १ कमिटी गठन गरिसकिएको छ ।

रत्ननगर नगर कमिटी र भरतपुर महानगर कमिटी गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष भट्टराईले जानकारी दिए । कालिका नगरपालिकामा मदन भण्डारी स्पोर्टस् एकेडेमी समेत गठन गरिएको छ । माडी नगर कमिटी र इच्छाकामना गाउँ कमिटी गठनबारे छलफल भइरहेको बताउँदै उनले भने, ‘पालिका र क्षेत्रीय कमिटी गठन सम्पन्न भएपछि वडा कमिटी गठन गरिने छ ।’

जननेता मदन भण्डारीका नाममा स्थापित उक्त फाउण्डेशनले सामाजिक कार्यका साथै विकास निर्माणका काममा समेत सहजीकरण गर्दै आएको छ । रक्तदान, आँखा शिविर जस्ता कार्यक्रम गरिरहेको फाउण्डेशनले दासढुङ्गादेखि गाँजीपुर हुँदै गोलाघाटसम्मको एकीकृत विकास गर्ने अभियानमा सहजीकरण गरेको छ ।

दासढुङ्गा र गाँजीपुरमा गत वर्ष केही विकासका काम भइसकेका छन् भने यस वर्षका लागि पनि बजेट विनियोजन भएको छ । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको जीप दासढुङ्गाबाट त्रिशूलीमा खसेको थियो । उनको शव गाँजीपुरमा भेटिएको हो । दुवै ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न फाउण्डेशनले सहजीकरण गरेको सहसचिव तिलक रिमालले बताए । दासढुङ्गामा राजनीतिक अध्ययन केन्द्र समेत निर्माण गर्ने योजना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७