नेकपा सचिवालय बैठक तनावपूर्ण : ओली-प्रचण्डबीच भनाभन


१६ मंसिर २०७७, मंगलवार
cpn
फाइल तस्बिर

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक तनावपूर्ण भएको छ । बैठकको कार्यसूचीको बिषयमा विवाद भएपछि बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भनाभन भएको हो ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन बिषयमा छलफल हुने वा नहुने बिषयमा दुई अध्यक्षबीच भनाभन सुरु भएको हो ।

एक सचिवालय सदस्यका अनुसार महासचिव बिष्णु पौडेलको जन्मदिनको केक खाएर सुरु भएको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डतिर हेर्दै सोधे, ‘एजेण्डाचाहिँ के हो नि ?’

ओलीको प्रश्नपछि प्रचण्डले उत्तर दिए, ‘पार्टी गम्भीर मोडमा छ । त्यही समस्या समाधानका लागि दुई प्रस्ताव अगाडि आएका छन् । तिनै विषय बैठकका कार्यसूची हुन्छ । अब यसैमा छलफल गरौं ।’

प्रचण्डको यस्तो प्रस्तावपछि ओली एकाएक जंगिए । प्रचण्डतिर फर्किएर ओलीले भने, ‘तपाईंले प्रस्तुत गरेको पत्र एकदम पूर्वाग्रहपूर्ण छ त्यो आरोपपत्र हो । त्यो लाञ्छना पत्र हो । लाञ्छनापत्रमाथि छलफल हुनै सक्दैन । त्यसले पार्टीको साख गिराएको छ । बेइज्जत गरेको छ । मेरो उछितो काडिएको छ । त्यसमाथि छलफल हुनै सक्दैन । त्यो कसरी एजेण्डा हुन सक्छ ? लाञ्छना पत्र तपाईंले फिर्ता नलिएसम्म र क्षमायाचना नगरेसम्म यो बैठक चल्दैन यो बैठक चल्न दिन्नँ ।’

ओली रोकिएनन् । थप भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिनँ पनि । बहुमत अल्पमत महाधिवेशन पछाडि मात्रै लागू हुन सक्छ ।’
ओलीको आक्रोशपूर्ण प्रस्तुतीपछि प्रचण्ड बोले । ओलीले उत्तेजित पार्ने कुरा बोलेको तर आफूहरु उत्तेजित नहुने बताए । प्रचण्डले भनेका थिए, ‘हामी उत्तेजित हुन्छौं भन्ने ठान्नु भएको होला, हामी उत्तेजित हुँदैनौं । पार्टी एकताको रक्षा गर्ने र अहिलेको छलफललाई सकारात्मक दिशातिर लैजाने कुरामा हामी गम्भीर छौं । अब छलफल गरौं ।’

प्रचण्डले यसो भन्दै गर्दा ओली थप जंगिएका थिए । ओलीले भने, ‘यहाँ जे मनमा लाग्यो त्यही भन्ने, त्यही बोल्ने ?’ यसपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बोल्न पनि नपाउने भन्दै ओलीको बिरोध गरे ।

प्रवक्ता श्रेष्ठले सबैलाई बोल्ने अधिकार रहेको बताए । सोधे, ‘अर्को अध्यक्षले बोलेको सुन्न पर्दैन ? सबैलाई बोल्ने अधिकार छ । बोल्नै नदिने ?’ प्रवक्ता श्रेष्ठपछि वरिष्ठ नेता नेपालले बिरोध गरे । सबैले बोल्न पाउनुपर्ने भन्दै ओलीको तिव्र बिरोध गरे ।

सबै नेताहरु बोल्न सुरु गरेपछि ओलीले ‘मर्यादामा रहनुहोस्’ भन्दै रुलिङ गर्न प्रयास गरेका थिए । प्रचण्डले तत्काल प्रतिवाद गरेका थिए । सोधका थिए, ‘यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । साथीहरू के भन्नुहुन्छ यसमा ?

बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेल पनि प्रतिवेदनमाथि छलफलकै पक्षमा उभिए । अर्का सदस्य रामबहादुर थापाले प्रस्तावमाथि छलफल भइनैसकेको धारणा राखे । महासचिव विष्णु पौडेलले यो बिषयमा ठोस रुपमा बोलेनन् ।

यसपछि प्रचण्डले भोली बुधबार १ बजे बैठक बस्ने र छलफल हुने जानकारी गराए । प्रचण्डले यसो भनी नसक्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बिरोध गरेका थिए । ‘यस्तो बैठक केका लागि ?’ बैठक छोडेर उनी हिडेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७