नेकपा बैठकमा घम्साघम्सी


१७ मंसिर २०७७, बुधबार
meeting 20201201104526

काठमाडौं, १७ मंसिर ।
बुधबार तय गरिएको सचिवालय बैठकमा ओली नजाने
स्थान : प्रधानमन्त्री निवास बालुवाटार
समय : दिउँसो १ः१५ बजे
नेकपा सचिवालय बैठक
०००

सत्तारूढ दल नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमै पुगेको छ । पार्टी एकतायताको सबैभन्दा तिक्ततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको छ । बैठकको कार्यसूची तय गर्ने विषयमै दुई अध्यक्षबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको सचिवालयका एक सदस्यले अन्नपूर्ण पोस्ट्लाई बताए ।

अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले यही मंसिर १३ गते आआफ्ना प्रस्ताव राखेका थिए । तर, ती प्रस्ताव छलफलमा लैजानेरनलैजाने कार्यसूचीकै विषयमा चर्को विवाद सचिवालय बैठकमा भएको हो ।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिनको अवसर पारेर केक काट्ने र जन्मदिन मनाउने विशेष कार्यक्रम राखेका थिए । त्यसपछि केक काटेर नेताहरूले मुख मिठ्याएपछि बाझाबाझ गरेका थिए ।
०००

ओली– बैठक सुरु गरौं । आज महासचिव कमरेडको जन्मदिन छ । उहाँ (पौडेल) आजबाट ६२ वर्षमा प्रवेश गर्नुभएको छ । मैले एउटा बर्थडेमा केक पार्टी राखेको छु । केक खाएर महासचिवको जन्मदिन मनाऔं । अनि सुरु गरौं ।
(प्रधानमन्त्री ओलीले सुरुमै महासचिव पौडेलको ‘बर्थ डे विस’ गर्ने कार्यक्रम सुनाए । आफ्ना निजी सचिवालयका सहयोगीलाई केक ल्याउन अह्राए । केक आयो । महासचिवले केक काटे । प्रधानमन्त्रीदेखि अन्य नेताहरूले पौडेललाई जन्मदिनको शुभकामना पनि दिए ।)
त्यसपछि सुरुमै प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष दाहालतर्फ हेर्दै भने, ‘बैठकको एजेन्डा के छन् ? प्रस्ताव के छन् ? ल सुरु गर्नुस् बैठक ?’

दाहाल – पार्टी अहिले गम्भीर संकट र जटिल मोडमा छ । तपाईंं (प्रधानमन्त्री) र मैले दुवैले आ–आफ्ना धारणाहरू, दृष्टिकोणहरू पार्टीभित्रको समस्या समाधानका लागि पेस गरेका छौं । बैठकमा सचिवालय सदस्यहरूले त्यसलाई गम्भीरतापूर्वक अध्ययन पनि गर्नुभएको छ । त्यही हो एजेन्डा । त्यही हो कार्यसूची ।

त्यसमा सार्थक छलफल गरेर निष्कर्ष निकाल्ने हो । आजको छलफल त्यसैमा अगाडि बढ्छ । यसमा तपाईं के भन्न चाहनुहुन्छ ?

ओली– तपाईंंको त्यो प्रस्ताव होइन, बैठकले तयार गर्न जिम्मा दिएको पनि होइन । दुई अध्यक्षबीचको सल्लाह, सहमतिमा आएको पनि होइन । छलफल गर्ने हैसियतकै प्रस्ताव छैन तपाईंंको । यो गलत छ । यसमा तपाईंका कुण्ठा, असन्तोष, तपाईंका आरोप, अभियोग, लाञ्छना छन् । यसलाई पार्टीमा छलफलको लागि अगाडि बढाउने होइन कि यसले पार्टीको साख जनतामा गिराउने गरी आएको छ । तपाईंले सुनियोजित रूपमा ल्याएको, विखण्डन र विभाजनको आधार तयार पार्न ल्याएको हो । त्यसलाई फिर्ता गर्नुहोस्, क्षमायाचना गर्नुस् । अर्को कुरा, आफ्नो लाञ्छनापत्रको बुकलेट तपाईंले जुन पार्टी कार्यालयको नाम र लोगो दुरुपयोग गर्दै छाप्नुभएको छ, तल–तल पठाउनु भएको छ । लोगो प्रयोग गरेर केन्द्रीय कार्यालयको नाममा छाप्नु भएको छ । त्यो पार्टीको विधान पद्धतिविपरीत छ । तपाईंले कहाँको निर्णयले छाप्नुभयो ? कसको निर्णयले छाप्नुभयो ? यो अनुशासनको उल्लंघन हो । यसमा तपाईंलाई कारबाही किन नगर्ने ? म यो सोध्न चाहन्छु । तपाईंले यसमा कारबाही भोग्नुपर्छ । यो तपाईंको निजी पार्टी होइन । निजी पार्टीमा पनि यसो गर्न मिल्दैन । तपाईंले विगतमा नेतृत्व गरेको पार्टी होइन, यो नेकपा हो । यसमा निर्णय गरेर मात्रै छाप्नुपर्छ । अर्कोतिर, सहमति बाहेक अन्य कुरा सोच्न सकिन्न । विधि र पद्धतिका नाममा बहुमत र अल्पमत मान्न सकिन्न । टाउको गनेर गरिने निर्णय मान्य हुँदैन । त्यसो गर्न खोजियो भने त्यस्तो बैठकको काम पनि छैन ।

दाहाल – तपाईंले उत्तेजित बनाउने ढंगले बोल्नु भएको छ । तर, हामी उत्तेजित हुनु हुँदैन । हामी शान्तसँग छलफल गरेर निष्कर्ष निकाल्ने पक्षमा छौं । सचिवालयको बैठक किन माग गरियो ? कर्णाली घटना घट्यो, वीरगन्जमा पार्टीकै साथीको हत्याका घटना घटे, कोभिड छलफल गर्नु थियो, भारतीय रअ प्रमुखलाई बालुवाटार बोलाएर भेट्नु भयो, पार्टी निर्णयसम्म कार्यान्वयन गर्नुभएन । त्यसपछि बैठक बसौं भनेर पटक पटक माग गर्दा मान्नु भएन । हाम्रा निवासमा र हाम्रा पछाडि सीआईडी (सुराकी) छोड्नु भयो । त्यही भएर बाध्य भएर बैठकको अनुरोधको पत्र लेखियो । पत्रको जवाफ तपाईंले आरोपबाट सुरु गर्नुभयो । फायर पहिले तपाईंले खोल्नुभयो । त्यसपछि जवाफ लेखेको हुँ । प्रस्ताव जे देखिएको हो, त्यही लेखेर ल्याएको हो । यो लाञ्छना हो या सत्य पार्टी कमिटीले भन्ने हो, तपाईंले होइन । अझ तपाईं को हो ? मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुन सक्दैन भन्ने ? किन हुन सक्दैन छलफल ? ‘.. दाहाल बोल्दै गर्दा ओलीले हस्तक्षेप गरे ।

ओली – जे मन लाग्यो त्यही लेख्ने, जे मन लाग्यो, त्यही बोल्ने, यही हो तपाईंको सीमा ? सीमा मिच्दै हुनुहुन्छ तपाईं ।

ओलीले दाहाललाई बोल्न रोक्न खोजे । त्यसपछि बैठकमा चर्काचर्की परिहाल्यो । अन्य नेता पनि बोल्न थाले । त्यसपछि दुई नेताका बीचमा घोचपेच चल्यो निक्कै बेर । ओलीले रुलिङ गर्न खोजे सीमामा रहनुपर्ने भन्दै । तर पनि दाहाल बोल्न रोकिएनन् ।

दाहाल – यहाँ कसैले कसैलाई रुलिङ गर्न सक्दैन । सबै सचिवालय सदस्यको हैसियत बराबरी हो । कमिटीले जे भन्छ, त्यहीअनुसार अगाडि बढ्छ ।

त्यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ बोले – तपाईं (ओली) ले बोलेका कुरा हामी सबैले सुन्नुपर्ने, अर्को अध्यक्षले बोल्नै नपाउने ? हामी सबैले बोल्न पाउनुपर्छ, बैठकमा । अरूले बोल्दै गर्दा रोक्ने ? सुन्ने धैर्य पनि छैन ? त्यसपछि वरिष्ठ नेता माधव नेपाल बोल्न तम्सिए ।

नेपाल – सबैले बोल्न पाउनु पर्‍यो नि । यो तरिका के हो ?

वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले पनि सबैका कुरा सुन्नुपर्ने, सबैले बोल्न पाउनुपर्ने कुरा राखे । दाहाल त्यसपछि फेरि बोल्न थाले ।

दाहाल – मलाई बोल्न नदिएको मात्र होइन्, यो एजेन्डामा छलफल गर्न पाइँदैन भन्नु भएको छ, केपी कमरेडले । यो पार्टी कमिटीले भन्ने कुरा हो । व्यक्तिले होइन । साथीहरू के भन्नुहुन्छ ?

दाहालले अन्य नेताहरूको साथ खोजे । त्यसपछि माधवकुमार नेपाल बोले, ‘छलफल गर्न किन नपाउने ? छलफल गर्नैपर्छ । बैठकमा आएका प्रस्तावहरूमा छलफल गरेर नै निकास निकाल्ने हो ।’

झलनाथ खनालले भने, ‘सबै प्रस्तावमा छलफल गर्न पाउनु पर्छ । छलफल भइसक्यो । यो पार्टीको सम्पत्ति भइसक्यो । अब यसलाई छलफल गरेर निकास निकाल्ने हो ।’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘केपी कमरेडले पनि यो विषयमा छलफलमा भाग लिइसक्नु भयो । छलफल नगर्ने भन्ने हुँदैन । नारायणकाजी श्रेष्ठले छलफल गरिन्छ, निष्कर्ष निकालिन्छ, छलफल गर्न पाइँदैन भन्ने कुरा बेकारको कुरा हो भने ।

उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले भने, ‘कम्युनिस्ट पार्टीमा प्रस्तावमा छलफल गर्ने हुन्न भन्ने होइन । तर बैठकमा यसरी आरोप प्रत्यारोप गर्ने गरी प्रस्ताव ल्याउने कुरा कति ठीक हो भन्ने नेताहरूले बुझ्नुपर्छ । नेताहरूले छलफल गरेरै दुवै अध्यक्षले सहमति खोजी गर्ने गरी साझा प्रस्ताव कसरी ल्याउने, के ल्याउने भन्नेमा छलफल गरेर जाँदा राम्रो हुन्छ ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापाले पनि प्रस्ताव ल्याउने कुराको विरोध गरे । अनि भने, ‘प्रस्ताव यसरी ल्याउने कुराको म विरोधी हुँ । तर अब यसमा छलफल त सुरु भइसक्यो ।’

महासचिव पौडेलले दुई अध्यक्ष मिलेर सहमतिमा प्रस्ताव ल्याउनुपर्नेतिर आफ्ना भनाइ राखे । ‘पार्टी सचिवालयमा आएका यी विषयहरूमा छलफल गर्ने, नगर्ने विषयमा म केही पनि बोल्दिनँ । तर, नेताहरूले यसो नगरेको भए हुन्थ्यो भन्ने मेरो कुरा हो । दुई अध्यक्ष फेरि पनि मिल्ने, सहमति खोज्नेतिर नै जानु राम्रो हुन्छ ।’

एकसरो नेताहरूले बोलेपछि फेरि दाहाल बोल्न थाले ।

दाहाल – सबै कमरेडलाई धन्यवाद । पार्टीमा आएका दुवै प्रस्तावमा अब छलफलबाटै निष्कर्ष निकाल्नु पर्छ । अन्तरसंघर्षलाई यो ठाउँमा पुर्‍याउने गरी फायर खोलेको केपी कमरेडले नै हो यसपटक । हामीले स्थायी समितिको निर्णय कार्यान्वयन नभएर बैठकको अनुरोध गरेर पत्र लेख्दा प्रत्युत्तर पत्र लेखेर लाञ्छना लगाएको होइन ? त्यसपछि हामीले त्यसको जवाफमा अर्को पत्र लेखेर प्रस्ताव तयार गर्नुपर्ने बाध्यता आइलागेको हो । यो मित्रतापूर्ण अन्तरविरोध हो, यसलाई शत्रुतापूर्ण बनाइरहनु भएको छ प्रधानमन्त्रीले । फुटको खेती गर्न खोजिरहनु भएको छ । तर पनि हामी फेरि छलफल गरेर एउटा निष्कर्ष निकालेरै जानुपर्छ ।

खनाल – सहमति–सहमतिको माला पटकपटक किन जपेको ? दुनियाँमा कहीँ पनि यस्तो हुँदैन । भएसम्म सहमति स्वतः ‘अन्डरस्टुट’ हो । यसमा भन्नै पर्दैन । नभए, विधि पद्धतिमा गएर निर्णय हुन्छ । हाम्रो समस्याको जड नै त्यही हो । अब छलफल गरेर अगाडि बढ्ने हो ।

गौतम – अनौपचारिक, औपचारिक दुवै खालका छलफल पनि गरौं । औपचारिक छलफल पनि गरौं, पार्टीको एकता बचाउने, संकटको समाधान खोज्ने गरी अगाडि जाऔं । छलफलबाटै एउटा निष्कर्षमा पुगौं ।

नेपाल – यो मित्रतापूर्ण अन्तरविरोध नै हो । दुश्मनीपूर्ण हुँदै होइन । अन्तरविरोधलाई दुश्मनीपूर्ण बनाउने, त्यस्तो ठान्ने र पार्टी फुटाउँछु भन्ने को हो ? पार्टी कसले फुटाउँदो रहेछ हेरौं त ? पार्टी कसको सम्पत्ति हो ? पार्टी फुट्छ र पूर्व एमाले एकातिर, पूर्व माओवादी अर्कातिर हुन्छ भन्ने कसैले नसोचे हुन्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७