नेकपा सचिवालय बैठक आज पनि बस्दै, ओली सहभागी नहुने


१७ मंसिर २०७७, बुधबार
meeting 20201201104526

काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दै छ ।

हिजो निकै तनावपूर्ण रुपमा सकिएको सचिवालय वैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने जनाइएको छ । तर बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने हिजो (मंगलबार) नै बताइसकेका छन् ।

मंगलबारको बैठकमा प्रचण्डले बैठक शुरु गर्दै पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाडि बढ्ने बताए लगत्तै ओलीले दाहालको लाञ्चनापत्रमा छलफल नहुने भन्द हस्तक्षप गरेका थिए ।

तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए । त्यसलगत्तै ओली प्रतिरक्षात्मक बनेकाले आज (बुधबार) को बैठकमा आफू नआउने बताएका थिए । पार्टीका मुख्य अध्यक्ष नै वैठकमा सहभागी नहुने बताइसकेपछि आजको सचिवालय वैठक कसरी अगाडि बढ्छ भन्नेबारे अन्योल बढेको छ ।

कार्तिक २८ मा अध्यक्ष दाहाल र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्ने नगर्ने मै नेताहरुबीच भनाभनको अवस्था आएको थियो । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उनले आजको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । बैठकमा हिजोदेखि दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल शुरु भएको छ ।

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल शुरु भएको हो । बैठकमा अध्यक्षद्वयले आ–आफ्नो धारणा राखेपछि औपचारिक छलफल शुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उनले बताए । यस्तै स्थायी कमिटी बैठक पूर्व निर्धारित समयमै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । यसअघि नै मंसिर १८ गते अर्थात भोलिका लागि बैठकको मिति तय भएको पूर्व निर्धारित मितिमै बैठक बस्ने उनको भनाइ छ । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बनेका छन् ।

प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउँदै आएका छन् भने प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ । सबै समस्याको समाधान बैठकमार्फत खोज्नु पर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत सचिवालय सदस्यहरुको अडान रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७