मध्यराति सम्पर्कविहीन डीएसपी चौधरी निलम्बित


१७ मंसिर २०७७, बुधबार
dsp bharat raj chaudhari

कैलाली, १७ मंसिर । गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई निलम्बन गरेको छ ।

मंसिर ९ गते मध्यराति सम्पर्कविहीन डीएसपी चौधरीलाई प्रहरी आचरणविरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘गृह मन्त्रालयले उहाँलाई निलम्बन गरेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘छानबिनको क्रममा उहाँलाई निलम्बन गरिएको हो ।’ उनलाई मंसिर १२ गते गृह मन्त्रालयले निलम्बन गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीपसिंह देउवाको नेतृत्वमा उनीमाथि छानविन गरिरहेको जनाएको छ । पहिलो चरणमा जिम्मेवारी खोसेर छानबिन भइरहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

‘छानबिन समितिले प्रतिवेदना तयार गरिरहेको छ । प्रतिवेदन हेरेर उहाँको दोष अनुसारको कारबाही हुन्छ,’ एसएसपी सिंहले भने, ‘दोष देखिएन भने उहाँ जिम्मेवारीमा फर्किनु हुन्छ ।’ सम्पर्कविहीन डीएसपी चौधरी कैलालीको एक होटेलमा भेटिएका थिए । प्रहरीले भने उनी आफैं सम्पर्कमा आएको बताएको छ ।

‘उहाँमाथि लागेको आरोपका विषयमा छानबिन भइरहेको छ। प्रतिवेदन आएपछि धेरै कुरा थाहा हुन्छ’ एसएसपी सिंहले भने । कैलालीमा केही समयअघि दुई जना प्रहरीको हत्या भएको थियो । त्यो घटना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख सम्पर्कविहीन भएपछि खैलाबैला मच्चिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७