पुल उद्घाटन गर्न गएका कांग्रेस नेता पौडेल तीन घन्टा प्रहरी नियन्त्रणमा


१८ मंसिर २०७७, बिहीबार
ramchandra paudel r1uvkbdh27

तनहुँ, १८ मंसिर । व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी पुलको उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले बुधबार नियन्त्रणमा लिएर तीन घन्टा पछि छाडेको छ । कांग्रेसले यसलाई सरकारको सर्वसत्तावाद भनेको छ ।

पुल उद्घाटन गर्ने विषयमा कांग्रेस र नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताबीचको विवादले झडपको स्थिति बनेपछि स्थानीय प्रशासनले दिउँसो १२ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गर्‍यो । तर, निषेधाज्ञाकै समयमा नेता पौडेल कार्यकर्तासहित पुल उद्घाटन गर्न गएपछि प्रहरीले उनीसहित कांग्रेसका १२ जना र युवासंघका ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

‘दिउँसो दुई बजेबाट युवा संघका कार्यकर्ताले विरोधमा र्‍याली निकालेका थिए । तर, प्रशासनले निषेधाज्ञा भन्दै नेता पौडेलसहित कांग्रेस कार्यकर्तालाई धरपकड गर्‍यो । तर, र्‍याली निकाल्ने युवासंघका सयौँ कार्यकर्तालाई पक्राउ गरेन,’ तनहुँ कांग्रेसका सभापति वैकुण्ठ न्यौपानेले भने । त्यसक्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडपसमेत भएको थियो । प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।

झडपमा संविधानसभा सदस्य रामचन्द्र पोखे्रल, कांग्रेस जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी र ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले घाइते भएका छन् । पोख्रेलको ढाडमा चोट लागेको छ भने हड्खलेको हातको औँला भाँचिएको र अरूलाई सामान्य चोट लागेको सचिव आचार्यले बताए । ‘घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने । भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

पौडेलसहित पक्राउ गरिएका सबैलाई साँझ पौने ६ बजे ससम्मान रिहा गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जनाएका छन् । ‘पुल उद्घाटनका विषयमा ठेक्का व्यवस्थापन गर्ने निकाय सडक डिभिजन र जिल्ला पूर्वाधार कार्यालयहरूसँग समेत समन्वय भएको रहेनछ, ती कार्यालयहरूले समेत उद्घाटन रोकिदिनु भनेका थिए,’ सिडिओ आचार्यले भने, ‘दुई पक्षबीच झडप हुने अवस्था समेत सिर्जना भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर मध्याह्न १२ देखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो, तर निषेधाज्ञाकै बीच उहाँहरू पुल उद्घाटन गर्न जानुभएपछि बाध्य भएर नियन्त्रणमा लिनुपर्‍यो । लाजमर्दो घटना भयो ।’

तनहुँका एसपी अरुण पौडेलले तीन घन्टापछि नेता पौडेललाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको रोहवरमा छाडिएको बताए । ‘पौडेललाई निषेधाज्ञा तोडेका कारण पक्राउ गरिएको हो, तीन घन्टापछि रिहा गरेका छौँ,’ उनले भने ।

तत्कालीन जिविसको एसएनआरटिपी परियोजनाअन्र्तगत ०७३ वैशाखमा सुरु भएर ०७५ कात्तिकमा बुल्दीपुलको निर्माण कार्य सकिएको थियो । दुई करोड ५४ लाख लागतमा पुल सूर्य एन्ड सन्स कम्पनीले निर्माण गरेको पुलको उद्घाटन भने भएको थिएन । कांग्रेस कार्यकर्ता बाहुल्य रहेको निर्माण उपभोक्ता समितिले नेता पौडेल गृहजिल्ला आएका वेला उनीबाटै पुल उद्घाटन गराउने कार्यक्रम तय गरेको थियो । तर, सत्तारुढ नेकपाका नेता–कार्यकर्ताले त्यसमा विरोध जनाएपछि विवाद भएको थियो ।

प्रहरीले आफ्ना नेतालाई पक्राउ गरेको विरोधमा कांग्रेस–कार्यकर्ताले राजमार्गमा टायर बालेर अवरोध गरेका थिए । त्यस्तै, नेविसंघले बुधबार साँझ बाग्लुङमा प्रदर्शन गरेको छ ।

सर्वसत्तावादको अभ्यास : कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलमाथिको दुव्र्यवहार र गिरफ्तारी सर्वसत्तावादको अभ्यास भएको बताएका छन् । पौडेलसहितका नेता–कार्यकर्तामाथि भएको धरपकड आपत्तिजनक र निन्दनीय भएको भन्दै सभापति देउवाले कांग्रेसले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्र्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार भएर बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

वर्तमान सरकारको अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन कांग्रेसले एकढिक्का भएर प्रतिरोध गर्ने चेतावनी विज्ञप्तिमा छ । त्यस्तै, कांग्रेस नेता प्रदीप गिरीले पनि घटनाको विरोध गरेका छन् । ‘सर्वसत्तावाद भनेको यही हो । आज रामचन्द्रमाथि ज्यादती भयो, भोलि शेरबहादुरमाथि हुन्छ, म यसको घोर निन्दा गर्दछु,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७