मंसिर २५ र २६ गते नेपाल–भारतबीच सचिवस्तरीय बैठक


१८ मंसिर २०७७, बिहीबार
nepal india flag new

काठमाडौं, १८ मंसिर । नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ र अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने विषयमा छलफल गरिने जनाइएको छ ।

नेपाल भारतबीच यो आठौं ऊर्जा सचिवस्तरीय बैठक हो । सो बैठकले विगतका बैठकमा ऊर्जासम्बन्धी दुई देशबीच भएको सहमति कार्यान्वयनको विषयमा जोड दिनेछ । कोरोनाका कारण सो बैठक भर्चुअल माध्यमबाट हुन लागेको छ । नेपाल र भारतबीचको संवादहीनता अन्त्य भएसँगै नेपालको प्रस्तावमा भर्चुअल बैठक हुन लागेको हो ।

सातौं बैठकमा भएका एजेन्डा कार्यान्वयनका विषयमा अहिले हुन लागेको आठौं बैठकमा छलफल हुनेछ । सातौं बैठक भारतको बैंग्लोरमा भएको थियो । सातौँ बैठकमा नेपाल, बंगलादेश र भारतको त्रिपक्षीय बैठक बसेर नेपालको बिजुली भारत निर्यात गर्ने एजेन्डा रहेको थियो ।

टनकपुरबाट भारतले दिँदै आएको बिजुलीको विषयमा पनि बैठकको एजेन्डा रहेको छ । भारतले टनकपुरबाट दिँदै आएको ७ करोड युनिट बिजुली निःशुल्क दिँदा नेपालले धेरै प्रयोग गरेको भन्दै बढी भएको बिजुलीको हिसाबको विषयमा भारतीय पक्षले चासो देखाएको छ ।

भारतले आठौं बैठकमा टनकपुरबाट दिएको ७ करोड युनिट बिजुलीबाहेकको बिजुलीमा आफूहरूले छुट्टै हिसाब राख्न पाउनुपर्ने माग राख्न सक्नेछन् । टनकपुरबाट नेपाललाई दिएको बिजुलीमा मिटर नहुँदा भारतीय पक्षले ७ करोड युनिटभन्दा धेरै बिजुली नेपालले लगेको हुन सक्ने आंकलन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७