नेपाल-भारत विगतका समस्याबाट अघि बढिसके : विदेशमन्त्री एस जयशंकर


१८ मंसिर २०७७, बिहीबार
s j

काठमाडौं, १८ मंसिर । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीच कुनै समस्या नरहेको प्रष्ट पारेका छन् ।

नेपाल–भारतबीच विगतमा केहि समस्या भए पनि अहिले पारस्परिक रुपमा अघि बढ्ने निर्णय भइसकेको बताएका छन् । भारतीय पत्रिका द हिन्दुलाई अन्तार्वार्ता दिँदै विदेशमन्त्री जयशंकरले दुई देशबीच समस्या नभएको र यदि भए पनि वार्ता र संवादका माध्यमबाट समाधान गर्न आफूहरु तयार रहेको बताएका छन् ।

उनले केही समय अगाडि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल, भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमणलाई इंगित गर्दै अहिले दुई देशबीचको सम्बन्धमा परिवर्तन आएको बताएका हुन् ।

उनले भनेका छन्, ‘विगतमा हामीबीच केहि मुद्दाहरु थिए, तर पछिल्ला केही साता भारत र नेपालबीच मिलेर अघि बढ्ने निर्णय गरेका छौं र यो पारस्परिक रुपमा भएको हो । दुई मुलुकबीच कुनै समस्या छैन ।’

उनले भारतसँगका अधिकांश छिमेकी मुलुकहरु प्रजातान्त्रिक रहेको र केही समस्या भए ती वार्ताका माध्यमबाट समाधान निकाल्न सकिने बताएका छन् ।

‘मैले भनिहाले, कुनै घटनालाई न्यायको अन्तिम गजको रूपमा नलिनुहोस् । समस्याहरू छन् । एकअर्काबीच समस्या नै नभएका दुई छिमेकी मुलुक कहाँ छन् र ? आज हाम्रा अधिकांश छिमेकी देश लोकतान्त्रिक छन् । यसको अर्थ, उनीहरुको आफ्नो राजनीति छ र हाम्रो पनि आफ्नो राजनीति छ । यसमा मुद्दाहरु आउँछन्,’ उनले भने ।

द हिन्दुका लागि पत्रकार सुहासिनी हैदरले लिएको अन्तर्वार्तामा जयशंकरलाई नेपालको संविधान जारी भएपछिदेखि शुरु भएको समस्या, नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी भएको र त्यसमा भारतको असहमति देखिए पनि पछिल्ला दिनमा भारतीय अधिकारीहरूले धमाधम नेपाल भ्रमण गरेको विषयमा प्रश्न गरेकी थिइन् ।

जसको उत्तरमा उनले समस्या अझै पनि हुनसक्ने र समस्या नभएका छिमेकी नहुने भन्दै पछिल्लो समयमा दुई देशबीचका मुद्दाहरूलाई समाधान गर्दै साझा विन्दु पत्ता लगाएर सम्बन्धको दरारलाई कम गर्न केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७