प्लेसबो दिइएकालाई वास्तविक खोप कति आवश्यक ?


१९ मंसिर २०७७, शुक्रबार
vaccine2020 12 04 06 25 40

काठमाडौं, १९ मंसिर । कुनै पनि नयाँ भाइरसको संक्रमण देखिँदा अनुसन्धानकर्ताहरूले केही व्यक्तिलाई खोप लगाउँछन् भने केहीलाई प्लेसबो दिन्छन् । त्यसपछि शरीरमा खोपको प्रभावबारे अध्ययन गरिन्छ ।

प्रत्येक समूहमा खोपले देखाएको प्रतिक्रियाबारे थप अध्ययन गरिन्छ । जस्तै, ९५ प्रतिशत प्रभावकारी दाबी गरिएको फाइजर भ्याक्सिनको चर्चा गरौँ । ४३ हजार ६६१ जनालाई सहभागी गराई यो भ्याक्सिनको ट्रायल परीक्षण गरियो ।

जसमध्ये एक सय ७० जनामा कोभिड संक्रमण पजिटिभ देखियो । तीमध्ये एक सय ६२ जनालाई प्लेसबो सट दिइन्छ भने बाँकी आठजनालाई वास्तविक भ्याक्सिन लगाइन्छ । यी संख्यामध्ये अनुसन्धानकर्ताहरूले तथ्यांकमा बिरामी परेकालाई मात्र समावेश गर्दछन् । जसमध्ये वास्तविक खोप लगाइएकाको संख्या निकै कम हुने गर्छ ।

अनुसन्धानकर्ताहरूले प्लेसबो सट र भ्याक्सिन दिइएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा भिन्नता निर्धारण गर्ने गर्छन् । यदि भ्याक्सिन र प्लेसबो सट दिइएकामा कुनै भिन्नता देखिएन भने खोपको प्रभावकारिता शून्य हुन्छ ।

प्लेसबो उपचारमा प्रयोगका लागि बनाइएको एक किसिमको पदार्थ हो, जुन ट्याबलेट, इन्जेक्सन वा स्याम सर्जरीका रूपमा प्रयोगमा ल्याइन्छ । सामान्यतः शरीरले संक्रमणप्रति रासायनिक प्रतिक्रिया जनाओस् भनेर प्लेसबो प्रयोग गरिन्छ, तर प्लेसबो आफैँमा प्रभावकारी भने हुँदैन । अर्थात् प्लेसबोमा शरीरमा सक्रिय प्रभाव पार्ने कुनै वस्तु समावेश गरिएको हुँदैन ।

वास्तविक खोपले निश्चित भाइरसविरुद्ध शरीरमा प्रतिक्रिया प्रभावकारी रहे–नरहेको पत्ता लगाउन प्लेसबो समूहसँग तुलना गरिने भएकाले झन्डै ८० प्रतिशतभन्दा बढीमा प्लेसबो मात्रै दिइने गरिन्छ । हाल कोरोनाविरुद्ध संसारभरि उत्पादन भइरहेका विभिन्न खोप र उत्पादक कम्पनीले गरिरहेका ट्रायल परीक्षणका सहभागीमा प्लेसबोको प्रयोग भइरहेको छ । खोपको प्रभावकारिता पत्ता लगाउन प्लेसबो परीक्षण अति आवश्यक मानिन्छ ।

प्लेसबो प्रयोग गरिएका व्यक्तिहरूमा वास्तविक भ्याक्सिन कहिलेसम्म दिने भन्ने विषयबारे खोप उत्पादक कम्पनीहरूले अझैसम्म निक्र्योल गरिसकेका छैनन् । केही खोप उत्पादन कम्पनीले प्लेसबो प्रयोग गरिएका स्वयंसेवकमा ट्रायललगत्तै वास्तविक खोप लगाइने भनिए पनि अझै कम्तीमा दुई वर्ष कुर्नुपर्ने बताएका छन् ।

अधिकांश प्लेसबो प्रयोगकर्तामा भने वास्तविक खोपबारे अन्योल रहेको पाइन्छ । एफडिएबाट इमर्जेन्सी प्रयोगका लागि अनुमति पाएका खोप मोर्डना र फाइजरजस्ता कम्पनीले सुरुवातमा स्वास्थ्यकर्मी, नर्सिङहोम र आपत्कालीन सेवाका कर्मचारीलाई पहिलो प्राथमिकता दिइने भनेपछि प्लेसबो सट लिएका दशौँ हजार व्यक्तिमा के गर्ने भन्ने विज्ञहरूमाझ बहसको विषय बनेको छ ।

प्लेसबो सट दिइएका अधिकांश व्यक्तिमा वास्तविक खोप पनि दिइनुपर्ने केही विज्ञहरूले बताउँदै आएका छन् । तर, अमेरिकी फुड तथा ड्रग एडमिनिस्ट्रेसनअन्तर्गत रहेका १८ खोपहरूको विशेषज्ञको टोलीले भने प्लेसबो सट दिएका व्यक्तिमा तत्काल वास्तविक भ्याक्सिन दिइएमा खोपप्रतिको अनुसन्धान गर्न नसकिने बताएको छ । खोप वास्तविक रूपमा सबै उमेर र स्वास्थ्य समूहका व्यक्तिमा प्रयोग नगरुन्जेलसम्म वा खोप पूर्ण रूपमा प्रभावकारी भए नभएको पुष्टि नहुन्जेलसम्म अनुसन्धानका लागि प्लेसबो समूह आवश्यक पर्ने उनीहरूको तर्क छ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक रिचर्ड पेटोले भनेका छन्, ‘यदि तपाईं खोप लिन प्राथमिकता दिनुहुन्छ भने खोप लगाउनुपर्ने अन्तिम व्यक्तिहरू उनीहरू हुन्, जो क्लिनिक ट्रायल परीक्षणको समूहमा थिए ।’ उनका अनुसार, खोपको क्लिनिक ट्रायलका लागि प्लेसबो समूह सामान्यतः दशकौँसम्म आवश्यक हुन्छ ।

तर, खोप परीक्षणको समयमा प्लेसबो समूहभित्र कस्तो स्वास्थ्य अवस्था भएका व्यक्तिलाई समावेश गरिएको छ भन्ने विषय महत्वपूर्ण हुन्छ । यद्यपि रोगसँग लड्ने प्राकृतिक प्रतिरोधी क्षमता विकास गर्न प्लेसबो महत्वपूर्ण मानिन्छ । खोप उत्पादन कम्पनीहरूले प्लेसबो सट पाएका व्यक्तिहरूमा पनि ढिलोचाँडो वास्तविक भ्याक्सिन प्रयोग गर्ने बताएका छन् ।

तर, हालसम्म उत्पादक कम्पनीहरूले खोपको प्रभावकारिताबारे प्रकाशित गरेका तथ्यांकहरू ट्रायलमा देखिएको प्रभावको आधारमा दिइएको हो । ट्रायल परीक्षणमा भेटिएको प्रभावकारिता वास्तविक रूपमा कतिको प्रभावकारी हुन्छ भन्नेमा निर्भर गर्दछ । यस्तै, संक्रमणका कारण फरक स्वास्थ्य अवस्था भएका व्यक्तिमा पनि भ्याक्सिनको प्रभावकारिता निर्भर रहन्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७