लोकमार्गले चम्किँदै मध्यपहाड


१९ मंसिर २०७७, शुक्रबार
madhya pahadi lokmarga dail
फाइल फोटो

काठमाडौं, १९ मंसिर । कर्णाली प्रदेशको अवस्था केही वर्षअघिसम्म यस्तो थियो, आधा नागरिक गरिब । रोजगारीका लागि भारतसहित तेस्रो मुलुक जानुपर्ने बाध्यता । विकासको गति सुस्त । नागरिक निरास । तर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणसँगै विकासको ढोका खुल्न थालेको छ । स्थानीयमा तीव्र विकासको आशा पलाएको छ । उनीहरूको आर्थिक अवस्थामा सुधार आउन थालेको छ ।

‘लोकमार्ग खुलेपछि बेस्तडामा बजार चम्किएको छ । व्यापार–व्यवसाय पनि फस्टाउँदो छ’, दैलेखका कृष्ण अधिकारी भन्छन्, ‘अन्य स–साना बजार विस्तार हुने क्रम तीव्र छ । हामी गाउँका नागरिकलाई बजारसम्म जोड्यो ।’

लोकमार्गअन्तर्गत कर्णालीका रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको अछामसम्म गरी ४ सय ४० किलोमिटर पर्छ । दैलेखको राकम प्रदेशकै नमुना सहरका रूपमा स्थापित हुने क्रममा छ ।

कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैले छुने भएपछि राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरू बस्न आएका छन् । सरकारी संयन्त्र पनि पुगेका छन् । यसले स्थानीयलाई सरकारी सेवा लिन घण्टौं हिँड्नुपर्ने बाध्यता टरेको छ । यस्तै, रूकुमको चौरजहारीमा बजार फस्टाएको छ ।

‘लैनचौरको गाउँ समेत बजारमा परिणत भएको छ’, चामुण्डाविन्द्रासैनी नगरपालिकाका मदन विक भन्छन् । बस्ती नै नभएको ठाउँमा पनि लोकमार्ग खुलेपछि बजार विकास भइरहेको उनको भनाइ छ । लोकमार्गका कारण स्थानीय कृषिजन्य बस्तुले बजार पाउन थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ ।

लोकमार्ग आयोजना कार्यालय दैलेखअन्तर्गत लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट सुदूरपश्चिमको अछामसम्म निर्माण कार्य तीव्र गतिमा छ । यो खण्डको स्तरोन्नतिअन्तर्गत सडक ग्राभेल, कालोपत्रे, पुल निर्माणलगायत काम धमाधम भइरहेका छन् । रूकुमपूर्व र रुकुम पश्चिमअन्तर्गत १ सय २५ किलोमिटरमध्ये ४६ किमि कालोपत्रे भइसकेको इन्जिनियर मनीष सिंह बताउँछन् ।

जाजरकोट खण्डमा पर्ने ८३ किमि भने कालोपत्रेको काम बाँकी छ । दैलेख खण्डको १ सय २५ किमिमध्ये १९ किमि कालोपत्रे भइसकेको छ । चालु वर्ष ३५ किमि कालोपत्रे सम्पन्न हुने इन्जिनियर सिंह बताउँछन् । उनका अनुसार बाँकी खण्ड स्तरोन्नतिको कामले गति लिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७