अमेरिकामा झन बढ्यो कोरोना, एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु


१९ मंसिर २०७७, शुक्रबार
America

काठमाडौं, १९ मंसिर । केही दिनयता अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या तीब्र बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा बुधबार संक्रमित हुने तथा अस्पतालमा भर्ना हुनेको संख्या हालसम्मकै उच्च भएको छ । जनस्वास्थ्यविद्हरूले क्रिसमससम्म यो दर घट्न निकै कठिन रहेको जनाएका छन् ।

अमेरिकामा पहिलो पटक एकै दिन अस्पताल भर्ना हुनेको संख्या एक लाखभन्दा बढी रहेको जनाइएको छ । यो नोभेम्बरको सुरुवातको भन्दा करिब दुई गुणा बढी हो । यसका साथै बुधबार नयाँ संक्रमितको संख्या पनि हालसम्मकै उच्च देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार मात्रै अमेरिकामा एक लाख ९५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

त्यस्तै बुधबार नै अमेरिकामा कोभिड–१९ को संक्रमणका कारण २ हजार ७३३ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितको संख्या एक करोड ४१ लाख नाघेको छ भने २ लाख ७६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकाले केही सातायतादेखि नै कोभिड बिरामीको संख्यामा उल्लेखनीय रूपमा वृद्धिको सामना गरिरहेको छ । जसमा नोभेम्बरमा मात्र हरेक साता नयाँ संक्रमितहरू लाखौंको संख्यामा थपिएका हुन् । सरकारी निकायहरूले देशको स्वास्थ्य सेवा प्रणाली जाडोयाममा अप्रत्याशित दबाबमा परेको बताइरहेका छन् ।

यसअघि सीडीसीका प्रमुख रोबर्ड रेडफिल्डले डिसेम्बर, जनवरी र फेब्रुअरी महिनामा देशको सार्वजनिक स्वास्थ्य क्षेत्रले अभूतपूर्व चुनौतीको सामना गर्ने बताएका थिए । बाक्लो जनसंख्या रहेका क्यालिफोर्निया, टेक्सास, फ्लोरिडालगायत राज्यमा पछिल्लो समय बढी प्रभावित देखिएका छन् ।

रुसमा एकै दिन २८ हजार संक्रमित
यता रुसमा कोभिड–१९ बाट एकै दिन २८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २८ हजार १४५ जना संक्रमित थपिएका हुन् । रुसमा बुधबार २५ हजार ३ सय ४५ जना संक्रमित भएका विवरण सार्वजनिक गरिएको थियो । रुसमा अहिलेसम्म कोभिड–१९ बाट २३ लाख ५४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

यसअघि गत नोभेम्बर २७ मा एकै दिन २७ हजार ५४३ जना संक्रमित भएका थिए । ‘पछिल्लो २४ घण्टामा रुसमा कोभिड–१९ बाट संक्रमित हुनेहरूको संख्या २८ हजार १४५ थपिएको छ,’ सरकारी अधिकारीले भनेका छन् ।

थपिएका संक्रमितमध्ये ७ हजार ७५० जना केन्द्रीय राजधानी मस्कोका हुन् । पछिल्लो २४ घण्टामा रुसमा थप ५५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो दिन योभन्दा धेरै ५८९ जनाको मृत्यु भएको जनाइएको छ । कोभिड–१९ विरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७