१२ वर्षीया सम्झना विकको बलात्कार–हत्या अभियुक्त राजेन्द्र झ्याल फोडेर भागे


१९ मंसिर २०७७, शुक्रबार
bohora

बझाङ, १९ मंसिर । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विक (कामी) को बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका राजेन्द्र बोहरा फरार भएका छन् ।
पुर्पक्षका लागि डोटीस्थित बाल सुधार केन्द्रमा राखिएका उनलाई कोरोना संक्रमण भएपछि यही मंसिर ६ देखि डोटी जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

त्यहींबाट उनी बिहीबार राति १० बजेतिर फरार भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनक पाण्डेले जानकारी दिएका छन् । उनी आइसोलेसन कक्षको झ्याल फोडेर फरार भएको प्रहरीको भनाइ छ । फरार राजेन्द्र भर्खरै फेला परेको खबर आएको तर, उनी हो कि होइन यकिन भइनसकेको बताउँदै एसपी पाण्डले भने, ‘म सो स्थानतर्फ गाडीमा जाँदैछु । पुगेपछि स्पष्ट हुन्छ ।’

बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनको जन्ममिति विवादित देखिएको छ । परिवारले उनी नाबालक नै रहेको दाबी गरेपछि उनलाई सुधार गृहमा राखिएको हो ।

सम्झनाको गत असोज ७ गते बलात्कारपछि विभत्स हत्या गरिएको थियो । १२ वर्षीया सम्झनालाई राजेन्द्रले सोही ठाउँको मलाई सिमथलाको ओरालोमा कब्जामा लिई मन्दिरभित्र लगेर बलात्कार गरी पहिला ढुंगाले र पछि त्रिशूलले हानेर हत्या गरेका थिए । सम्झनाको हत्यापछि उनको परिवार विक्षिप्त छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७