अस्पतालको झ्याल फोडेर भागेका सम्झनाका हत्या आरोपी राजेन्द्र पक्राउ

तीन प्रहरी निलम्बित


१९ मंसिर २०७७, शुक्रबार
bohora

बझाङ, १९ मंसिर । बझाङकी १२ वर्षीया बालिका सम्झना विक (कामी) को बलात्कार–हत्या आरोपी राजेन्द्र बोहरालाई प्रहरी नियन्त्रणबाट भागेको झण्ड १० घण्टापछि पक्राउ गरिएको छ ।

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा बोहरालाई पुर्पक्षका लागि डोटीस्थित बालसुधार गृहमा राखिएको थियो । मंसिर ६ मा कोरोना भाइरसको पीसीआर जाँच रिपोर्ट पोजेटिभ आएपछि उनलाई जिल्ला अस्पतालमा डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो ।

उनी गत राति १० बजेर ३५ बजे आइसोलेसनको झ्याल फोडेर भागेका थिए । तर, भागेको १० घण्टामा उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।

‘हत्या आरोपी राजेन्द्र बोहरालाई डोटीको पुर्वीचौकी गाएँपालिका–१ बाट पक्राउ गरेका छौं’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’ डोटीको सिलगढी नगरपालिका–६ स्थित बालसुधार गृहमा रहेका अन्य ३ जना थुनुवालाई पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

१६ वर्षीय बोहरा सोही मौका छोपेर भागेको बताइएको छ । उमेर कम भएको हुनाले जिल्ला अदालत बझाङले उनलाई बाल सुधार गृहमा राख्न आदेश दिएको थियो । राजेन्द्रको जन्ममिति फरक–फरक पाइएको छ । उनलाई सजायबाट जोगाउन कम उमेर देखाइएको सम्झनाका परिवारको गुनासो ।

सम्झनाका परिवारले अहिले पनि आफूहरु असुरक्षित रहेको बताइरहेका छन् । राजेन्द्रका परिवार र आफन्तले उनी चाँडै छुट्ने बताउँदै धम्कीहरु दिने गरेको सम्झनाको परिवारको भनाइ छ । धम्की आइरहेका बेला घटनाका आरोपी फरार भएको सुन्दा सम्झनाको परिवारमा थप त्रास बढेको छ ।

तीन प्रहरी निलम्बित

राजेन्द्र बोहराको सुरक्षामा खटिएका तीन जना प्रहरीलाई निलम्बन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन दिएको छ । बोहराको सुरक्षाका लागि अस्पतालमा खटिएका एक जना हवल्दार र दुई जना जवानलाई निलम्बन गरेर घटना छानविन गरिने प्रहरी बरिष्ठ उपरीक्षक सिंहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७