अप्रिय कदम नचाल्न प्रचण्डको राष्ट्रपतिलाई आग्रह

आज ओली–प्रचण्डसँग राष्ट्रपतिको सामुहिक छलफल


१९ मंसिर २०७७, शुक्रबार
thumb 1

काठमाडौं, १९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद गहिरिंदै जाँदै राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्न थालेको छ ।

हिजो नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शितलनिवासमा छुट्टाछुट्टै छलफल गरेकी राष्ट्रपति भण्डारीले दुई अध्यक्षलाई मिलाउने भूमिका निरन्तर जारी राखेकी छिन् । दुई अध्यक्षसँगको अलग–अलग छलफलले पनि नेकपाभित्रको विवाद हल हुने संकेत नदेखिएपछि राष्ट्रपति भण्डारीले दुई अध्यक्षसँग सामुहिक छलफल नै गर्ने तयारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आज (शुक्रबार) सामुहिक छलफलका लागि शीतलनिवास बोलाएको स्रोतले जानकारी दिएको छ ।
बिहीबार छुट्टाछुट्टैको भेटेर छलफल गर्दा पनि सहमतिको सम्भावना नदेखेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई शुक्रबार बिहान सामुहिक छलफलमा बोलाएको शीतलनिवास स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान राष्ट्रपतिसँग भेटेर छलफल गरेका थिए भने बेलुका दाहाल शीतलनिवास पुगेका थिए । भेटमा दुबै अध्यक्षलाई राष्ट्रपति भण्डारीले मिलेर जान आग्रह गरेकी थिइन् ।

भेटमा राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई पार्टीमा मिलेर जान र बहुमतीय आधारमा कुनै निर्णय नगर्न सुझाव दिएकी थिइन् । ‘मिल्न पर्‍यो र तपाईंले मिलाउनु पर्‍यो भनेर राष्ट्रपतिले भन्नु भयो’, राष्ट्रपतिको यो आग्रहमा दाहालले ‘अहिले पार्टीमा सबै समस्या प्रधानमन्त्री ओलीकै कारण देखिएको हो, उहाँले नमिलाइ कुरा मिल्दैन’ भनेर जवाफ दिएका थिए ।

‘अहिले सबै समस्या ओलीजीकै कारण भएको हो, उहाँले केही पनि मान्नुहुन्न, न कमिटीको बैठकमा आउनु हुन्छ न निर्णय मान्नुहुन्छ’, राष्ट्रपतिलाई दाहालको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने, ‘पुरै स्वेच्छाचारिता देखाएपछि गाह्रो हुनु स्वभाविक हो ।’

प्रचण्डले आफूहरू पार्टी एकताका लागि प्रयासरत रहेको भन्दै कुनै अप्रिय कदम नचाल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । ‘बरु तपाईंले कुनै अप्रत्याशित र अप्रिय कदम नचाल्नुस्, त्यसले तपाईंको भूमिका र जिम्मेवारीलाई विवादमा ल्याउँछ, राम्रो गर्दैन ।’

त्यसपछि राष्ट्रपतिले सहमति खोज्न शुक्रबार दुवै अध्यक्षलाई बोलाएकी हुन् । नेकपाभित्र विवाद हुँदा भण्डारीले दुई अध्यक्षलाई यसैगरी मिलाउन पहल गर्दै आएकी छन् । यसअघि २०७६ मंसिर ४ गते राष्ट्रपतिकै रोहबरमा ओली र प्रचण्डबीच पदीय बाँडफाँटमा सहमति भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७