प्रचण्ड भेट्न खुमलटारमा ईश्वर पोखरेल


१९ मंसिर २०७७, शुक्रबार
prachanda

काठमाडौं, १९ मंसिर । पार्टीभित्रको विवाद झनझन जटिल बन्दै गइरहेका बेला नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विवाद समाधानका लागि सक्रिय बन्न थालेका छन् ।

नेकपा सचिवालयका वहुमत सदस्यहरुले अध्यक्ष ओलीका विषयमा वहुमतबाट निर्णय लिनु पर्ने परिस्थिति बन्दै गइरहेको बताइरहेका बेला ओली निकट नेता ईश्वर पोखरेल आज (शुक्रबार) अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् ।

आज विहान साढे नौ बजेतिर खुमलटार पुगेका पोखरेलले अध्यक्ष प्रचण्डसँग पार्टी विवाद र समाधानका विषयमा झण्डै एक घण्टा कुराकानी गरेको स्रोतले जानकारी दिएको छ । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतको भनाइ छ । यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए ।

महासचिव पौडेलले भेटेर कुरा गरेपछि साँझ नेम्वाङ खुमलटार पुगेका थिए । साँझ पाँच बजेतिर खुमलटार पुगेका नेम्वाङसँग पनि पार्टी विवाद मिलाउनेबारे नै छलफल भएको थियो ।
नेम्वाङलाई प्रचण्डले परिस्थिति सकारात्मक बनाउन सकिने बताएका थिए । नेकपामा पोखरेल, पौडेल र नेम्वाङ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् ।

अध्यक्ष प्रचण्ड र पोखरेलबीच केहीबेर कुराकानी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जनाकारी दिएका छन् । उनले भने, ‘अध्यक्ष प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल आउनु भएको थियो, उहाँहरुबीच केहीबेर कुराकानी भएको थियो । तर, के विषयमा कुरा भयो भन्ने जानकारी आइसकेको छैन ।’

प्रचण्डले शनिबारका लागि सचिवालय बैठक बोलाएका छन् । ओली अनुपस्थित भएको बैठकले सचिवालय बोलाइएकाले भोलि पनि बैठकमा उनी नआउने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७