‘पुल बन्यो, अब बिरामीलाई डोकोमा बोकेर ल्याउनु पर्दैन’


१९ मंसिर २०७७, शुक्रबार
pul

तनहुँ, १९ मंसिर । ‘सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी पर्दा डोकोमा बोकेर ल्याउनुपथ्र्यो’, तनहुँको ऋषिङ गाउँपालिका ४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झँदै भन्छन्, ‘दुई घण्टाभन्दा बढी हिंड्नु पर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम दमौली पुर्‍याउनु पथ्र्यो ।’

तनहुँको दक्षिणी भेगका रूपमा चिनिएको ऋषिङ गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई अब बिरामी हुँदा डोकोमा बोकिनु पर्दैन । व्यास नगरपालिका १३ र ऋषिङ गाउँपालिका १ जोड्ने सुढेमा रहेको सेती नदीमा पक्की पुल निर्माण भएसँगै यहाँका स्थानीयवासी बिरामी भएको अवस्थामा गाउँबाटै गाडीमा राखेर दमौली पुर्‍याउन सकिने भएको छ ।

‘अब चाहिँ सहज हुने भयो, गाडीमा २०–३० मिनेटमै पक्की पुलसम्म आइपुगिन्छ’, मल्लले भने, ‘दुःखका दिन सकियो ।’ मल्लले ऋषिङपट्टिको सडक सफा गर्न आवश्यक रहेको जानकारी दिए । ‘पहिराले सडक अलिकति अप्ठ्यारो छ, त्यसलाई गाउँपालिकाले सफा गरिदिए हुन्थ्यो’, मल्लले भने ।

ऋषिङ गाउँपालिका ४ नाजुङका वीरबहादुर थापा पनि सेती नदीमा पक्की पुल निर्माण भएपछि खुशी छन् । ‘पुल नहुँदा कष्ट थियो, कृषिजन्य सामग्री पनि बोकेरै ल्याउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब त पुल बन्यो, गाडी पनि चल्छ, सहज हुने भयो ।’

सङ्घीय सरकारको सडक डिभिजन कार्यालय तनहुँमार्फत यो पुल निर्माण सम्पन्न भएको हो । एक सय पाँच मिटर लम्बाइ रहेको यो पुल विसं २०७१ असार २९ गते निर्माण सुरु भएर २०७७ वैशाख ३० गते सम्पन्न भएको थियो । १० करोड ७१ लाख दुई सय ७८ रुपैयाँ लागत रहेको पुलको ठेक्का भरतपुरको एडभेन्चर कन्स्ट्रक्नश प्रालीले पाएको थियो । यो पुल हुँदै ऋषिङको दुवुङ, मौरीबास, नाजुङ, बैदी, अर्चले पुग्न सकिन्छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाइपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगका बासिन्दालाई ठूलो राहत पुगेको बताए । ‘पुल निर्माणका लागि विगतमा तीन पटकसम्म निर्णय गरेर तत्कालीन जिल्ला विकास समितिमार्फत पहल गरेका थियौँ’, उनले भने, ‘तर खै के कारणले हो पुलको योजना पर्न सकेन ।’

लामो समयको प्रयासपछि पुल निर्माणका लागि बजेट परेको र पुल पनि निर्माण सम्पन्न गर्न सकिएको उनले जानकारी दिए । ‘यो पुलले दक्षिणी भेगका बासिन्दाका लागि विकासको ढोका खुलेको छ’, उनले भने, ‘पैदल हिँडेर झोलुङ्गे पुलमार्फत आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङतर्फको सडक साँघुरो रहेकाले गाउँपालिकाले त्यसलाई स्तरोन्नति गर्ने जानकारी दिए । ‘बाटो साँघुरो छ, केही ठाउँमा पहिराले अवरुद्ध पनि बनाएको छ, त्यसलाई तत्कालै स्तरोन्नति गर्छौँ’, उनले भने । गाउँपालिकाले अबको गाउँ सभाबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर बाटो स्तरोन्नति गर्ने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७