प्रधानमन्त्री ओलीसँग शासन गर्ने राजनीतिक र नैतिक अधिकार छैन : कांग्रेस


२३ मंसिर २०७७, मंगलवार
pm meating

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय वैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कडा रुपमा प्रस्तुत भएको छ ।

सर्वदलीय वैठकमा कांग्रेसले सरकारको कडा आलोचना गरेको छ । दुई तिहाइ भए पनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको कांग्रेसले बताएको छ । उपसभापति विमलेन्द्र निधिले यो सरकारले शासन गर्ने अधिकार समेत गुमाएको बताएका छन् ।

‘यो सरकारको काम कारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन,’ बैठकमा निधिले भने, ‘संघीयता टिकाउने काम गरेन, उल्टो कमजोर पार्ने काम गरेको छ ।’

जनहितका काम नगर्ने सरकारलाई शासन गर्ने राजनीतिक तथा नैतिक अधिकार नहुने पनि कांग्रेसको भनाइ छ । ‘हाम्रो आधिकारिक निष्कर्ष हो, यो सरकारसँग शासन गर्ने राजनीतिक र नैतिक अधिकार छैन,’ उनले भने ।

कांग्रेसले बैठकमा संघीयता, संविधान कार्यान्वयन र गणतन्त्रका पक्षमा सधैं उभिइरहने प्रष्टाएको थियो । ‘अहिले जे जति कुरा आएका छन् । यो तपाईंहरूकै कारणले भएको हो,’ सडकमा राजावादीका प्रदर्शनतर्फ संकेत गर्दै निधिले भने, ‘कांग्रेस संघीयता र गणतन्त्रको पक्षमा सधैं रहिरहन्छ ।’

सरकार अधिनायकवाद प्रवृत्तिबाट सञ्चालित भइरहेको र भ्रष्टाचार पनि बढेको कांग्रेसले आरोप लगाएको छ । ‘सरकारका प्रवृत्ति र भ्रष्टाचारविरूद्ध हाम्रो पार्टीले मंसिर २९ गते देशैभर प्रदर्शन गर्दैछ,’ उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रणमा पनि सरकार असफल रह्यो ।’

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि धारणा राखेका थिए । बैठकको शुरूमै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी शक्ति सलबलाएको र यसका विरुद्ध सबै दलहरु एकजुट हुनुपर्ने बताएका थिए ।

बैठकमा निधिले संघीयता कमजोर पार्ने काम सरकारबाटै भइरहेको पनि बताएका छन् । ‘सरकार हरेक क्षेत्रमा असफल छ । प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न दिइएको छैन । केन्द्रीकृत गर्ने काम सरकारले गरिराखेको छ,’ उनले भने ।

समसामयिक राजनीति कस्तो छ भन्ने नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डका पत्र हेरेर जनताले थाहा पाइसकेको निधिले बताए । ‘देश, जनता, संविधान र संघीयताप्रति उहाँहरू कति इमान्दार हुनुहुन्छ भन्ने दुई अध्यक्षको पत्रले जनता र दुनियाले थाहा पाइसक्यो,’ उनले भने । तीन घण्टा चलेको बैठकमा कांग्रेस सभापति देउवा भने केहिछिन मात्र बसेका थिए । उनले वरिष्ठ नेतालगायत पार्टीका नेताले कुरा राख्ने भन्दै बाहिरिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७