विप्लवको बर्बरता : शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या, गाउँले गुमायो समाजसेवी


२३ मंसिर २०७७, मंगलवार
teacher

मोरङ, २३ मंसिर । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई घाँटी काटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव हात बाँधेको अवस्थामा भेटिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआईजी ईश्वरबावु कार्कीले जानकारी दिएका छन् । विप्लव समूहका कार्यकर्ताले शिक्षक श्रेष्ठलाई घरबाटै अपहरण गरी बर्बरतापूर्वक हत्या गरिएको छ ।

‘घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ डिआईजी कार्कीले भने, ‘घटनास्थल टाढा भएकाले प्रहरी पुग्न चार घण्टा बढी लाग्यो, थप अनुसन्धान हुँदैछ ।’ स्थानीयले शुरुमा आवाज आएको सुनेको भनेर प्रहरीलाई खबर गरे । तर, गोली चलेको पुष्टि हुन नसकेको डिआईजी कार्कीले बताएका छन् ।

शिक्षक श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको प्रहरी स्रोतको दावी छ । प्रहरी उच्च स्रोतकाअनुसार चन्दा नदिएपछि मंगलबार विहान ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । सो समूहले अहिलेसम्म घटनाको जिम्मा लिएको छैन् । पूर्व माओवादी समर्थक श्रेष्ठ सबैलाई सहयोग गर्ने स्वभावका थिए ।

सो क्षेत्रमा अरुलाई डर देखाउन विप्लव समूहले उनको ज्यान लिएको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका मदन श्रेष्ठले राजेन्द्र मंगलबार बिहान राजेन्द्र आफ्नो पसलमा रिचार्ज किन्न आएको बताएका छन् । राजेन्द्रलाई एक सय रुपैयाँको रिचार्ज दिएर आफू गाईबस्तु निकाल्न गोठतर्फ लागेको बताएका छन् ।

गाईबस्तुलाई गोठबाट सारी नसक्दै ६ जनाको समूहले राजेन्द्रलाई लिएर गएको खबर सुने । ‘म बस्तु सार्दै थिएँ । ६ जनाको समूहले उनलाई लिएर गयो भन्ने खबर आयो,’ उनले भने, ‘गाउँलेहरु भेला भएर खोज्न गयौं ।’

करिब साढे ६ बजेको समयमा काम छ भन्दै राजेन्द्रलाई अज्ञात समूहले घरबाट लिएर गएको थियो । त्यसपछि मदनसहितका ४÷५ जना गाउँले भेला भएर उनको खोजी गर्न जंगलतर्फ लागे । घरदेखि करिब पाँचसय मिटर पश्चिमतर्फ जंगलमा विभत्स अवस्थामा उनको शव भेटियो ।

‘नचिनेका मान्छेले लिएर गएपछि हामी फर्काउन पर्छ भन्दै खोज्न गएका थियौं,’ उनले भने, ‘जंगलमा भुइँमा लडेको अवस्थामा उनलाई भेट्यौं, हेर्दा सबै रगताम्य थियो ।’

गाउँले पुग्दा उनको हत्या गरी उनीहरु फरार भइसकेका थिए । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अगुवा कृषक र समाजसेवी पनि हुन् । ‘गाउँमा केही पर्दा उहाँ सहयोग गर्न सधैं अगाडि हुनुहुन्थ्यो,’ मदन भन्छन्, ‘हामीले अभिभावक गुमायौं ।’ उनले अज्ञात समूहका मान्छे को थिए भन्ने नजानेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७