हिंसामा विप्लव नेतृत्वको नेकपा : बिहानै घरबाटै अपहरण, प्रअलाई जंगलमा लगेर हत्या


२४ मंसिर २०७७, बुधबार
teacher

मोरङ, २४ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माआवादीले मोरङ मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको छ । मंगलबार बिहान हतियारसहित आएका विप्लवका कार्यकर्ताले उनलाई बर्खेटोलस्थित घरबाटै अपहरण गरेका थिए ।

हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २८ फागुन ०७५ देखि विप्लव माओवादीलाई प्रतिबन्ध लगाएको छ । यसअघि विभिन्न ठाउँमा बम विस्फोटलगायत घटना गरेको भए पनि विप्लव माओवादीले व्यक्ति हत्या पहिलो पटक गरेको हो । मंगलबार साँझ मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएको छ ।

ghar.jpg .2020 12 09
हत्या गरिएका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मिक्लाजुङ गाउँपालिका– १ बर्खेटोलस्थित घर

प्रधानाध्यापक श्रेष्ठलाई सुराकीको आरोप लगाइएको छ । सम्झाउन गएका कार्यकर्तालाई हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

बिहान ६ बजेतिर गोठबाट गाईबस्तु सार्दै गरिरहेका वेला हतियारसहित आएका चार–पाँच जना विप्लवका कार्यकर्ताले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरेका थिए । त्यसको आधा घन्टाभित्रै करिब एक किलोमिटर टाढा जंगलमा उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरीका प्रवक्ता डिएसपी कवीन्द्र कार्कीले विप्लवका कार्यकर्ताले धारिलो हतियारले प्रधानाध्यापक श्रेष्ठको हत्या गरेको बताए । स्थानीयले प्रहरीलाई बताएअनुसार समाजसेवीका रूपमा परिचित श्रेष्ठको कसैसँग रिसिइबी थिएन । उनी नेकपा निकट नेपाल शिक्षक संगठनको पालिका तहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

स्थानीयले नजिकैको जंगलमा प्रधानाध्यापक श्रेष्ठको शव फेला पारेपछि बिहानै प्रहरीलाई खबर गरेका थिए । तर, पूर्व–पश्चिम राजमार्गदेखि झन्डै ३५ किलोमिटर उत्तर विकट पहाडी क्षेत्रमा भएकाले प्रहरी दिउँसो ३ बजे मात्रै घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रदेश १ मा हालसम्म विप्लवका दुई सय चार कार्यकर्ता पक्राउ परिसकेका छन ।

सुरक्षा उपस्थिति नै छैन मोरङको उत्तरी क्षेत्रमा

मोरङको उत्तरी पहाडी क्षेत्रहरू सिंहदेवी, रमितेखोला, भोगटेनी, याङशिला कतै पनि प्रहरीका एकाइ छैनन् । धनकुटा, पाँचथर, सुनसरी र झापा जिल्लासँग सीमाना जोडिने भएकाले यी क्षेत्रहरू सामरिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छन् । तर, कतै पनि प्रहरी चौकी नहुँदा स्थानीयले द्वन्द्वकालदेखि अझैसम्म असुरक्षित महसुस गर्नुपरेको छ । अझै पनि यो क्षेत्रमा सबैतिर सहज रूपले मोटरबाटो पनि पुग्न सकेको छैन ।

मोरङको सिंहदेवी र मिक्लाजुङको आइतबारेमा प्रहरी चौकी र बेसक्याम्प राख्न पटक–पटक जिल्ला र क्षेत्रीय प्रहरी कार्यालयमा अनुरोध गरे पनि बेवास्ता भइरहेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । एक दिनको बाटो हिँडेर लेटाङ र केराबारीमा रहेको इलाका प्रहरी कार्यालय आउनुपर्ने बाध्यता यहाँका बासिन्दाको छ ।

मोरङ क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद कुशल लिम्बूले सुरक्षा उपस्थिति नहुँदा उत्तरी क्षेत्रमा तीव्र रूपले भइरहेको विकास निर्माणमा पनि बाधा पुगिरहेको बताए । ‘त्यसैले हामीले पटक–पटक रमितेखोलामा एकीकृत बेसक्याम्प राख्न आग्रह गर्दै आएका छौँ, तर अझै कार्यान्वयनमा आइसकेको छैन,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७