कोरोना बिमाका नाममा जनतामाथि ज्यादती : कम्पनीले महिनौंसम्म भुक्तानी नदिँदा बिमा समिति मूकदर्शक

बिमा समिति र कम्पनी भन्छन् : बिमितले कागजपत्र नै पुर्‍याउँदैनन्


२४ मंसिर २०७७, बुधबार
korona bima

काठमाडौं, २४ मंसिर । २ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि भक्तपुर ठिमीका सुजन श्रेष्ठले होम आइसोलेसनमा नै बसेर उपचार गरे । दोस्रो पटक १८ कात्तिकमा स्वास्थ्य परीक्षण गर्दा पनि उनलाई पोजेटिभ नै देखियो । तेस्रो पटक २५ कात्तिकमा गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आयो ।

श्रेष्ठलाई पोजेटिभ देखिने बित्तिकै उनका आफन्तले अनलाइनमार्फत कोरोना बिमा दाबीका लागि प्रक्रिया सुरु गरेका थिए । शिखर इन्स्योरेन्समा १ लाख रुपैयाँको कोरोना बिमा गरेका उनको परिवारले ५ कात्तिकमा नै अनलाइनमार्फत बिमा दाबी गरिदिएका थिए । कोरोनामुक्त भएर सबै कागजपत्र कम्पनीमा बुझाएको महिना दिन पुग्दा पनि अहिलेसम्म भुक्तानी भएको छैन । उनले भने, ‘न त कम्पनीले कागजपत्र पुगेन भनेर सम्पर्क गरेको छ, न त दाबी भुक्तानी नै गरेको छ ।’

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीलाई १३ कात्तिकमा कोरोना पोजेटिभ देखियो । होम आइसोलेसनमा नै उपचार गरेर १४ दिनपछि कोरोनामुक्त भएका उनले आइएमई जनरल इन्स्योरेन्समा १ लाखको कोरोना बिमा गराएका थिए । ५ मंसिरमा उनले दाबीका लागि प्रक्रिया सुरु गरे पनि कम्पनीले हालसम्म भुक्तानी गरेको छैन । ‘कम्पनीले मलाई गत मंगलबार सम्पर्क गरेको थियो । कागजपत्र अगाडि बढेको छ, एक–दुई दिनमा भुक्तानी हुन्छ भनेको थियो । तर, मैले पाएको छैन,’ उनले भने ।

तारकेश्वर नगरपालिकाका मधुजंग पाण्डेलाई ८ असोजमा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेर उनी २७ असोजमा निको भए । युनाइटेड इन्स्योरेन्समा ५० हजारको कोरोना बिमा गरेका उनले कोरोनामुक्त भएपछि २९ असोजमा बिमा दाबी भुक्तानी प्रक्रिया सुरु गरे । तर, उनले पनि अहिलेसम्म भुक्तानी पाएका छैनन् । उनले भने, ‘बिमा रकमका लागि प्रक्रिया सुरु गरेकै दुई महिना पुग्न लाग्यो । तर, अहिलेसम्म रकम पाएको छैन ।’

भक्तपुरका इमान बटालालाई गत २९ असोजमा कोरोना संक्रमण देखियो । आफूलाई पोजेटिभ देखिएपछि उनले श्रीमती र छोरीको पनि परीक्षण गराए । परीक्षणमा उनीहरूलाई पनि कोरोना पोेजेटिभ देखियो । १५ कात्तिकमा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ देखियो । बटालाले कोरोनाको जोखिमलाई मध्यनजर गरी पूरै परिवारको नै युनाइटेड इन्स्योरेन्समा १–१ लाख रुपैयाँको कोरोना बिमा गराएका थिए ।

कोरोनामुक्त भएपछि १८ कात्तिकमा उनले बिमा रकमका लागि प्रक्रिया अगाडि बढाए । तर, दाबी प्रक्रिया सुरु गरेको एक महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी नगरेको उनले गुनासो गरे । ‘मैले कम्पनीमा १० पटकजति फोन गरें । बल्ल छोरीको र श्रीमतीको दाबी भेरिफाइ भएको छ, छिट्टै भुक्तानी हुन्छ मात्रै भन्छ, हेरौँ के हुन्छ ?’ उनले भने ।

नख्खीपोटमा बस्दै आएका स्याङ्जाका मुक्ति सुवेदीलाई २० असोजमा कोरोना संक्रमण देखियो । नेपाल धितोपत्र बोर्डमा कार्यरत सुवेदीले होम आइसोलेसनमा नै बसेर १२ दिनमा कोरोनालाई जित्न पनि सफल भए । उनको कार्यालयले आइएमई जनरल इन्स्योरेन्समा १ लाखको कोरोना बिमा गरिदिएको थियो । तर, दसैंको माहोलाका कारणले उनले समयमा नै दाबी गर्न पाएनन् ।

दसैं सकिएलगत्तै १६ कात्तिकमा उनले बिमा रकमका लागि कम्पनीमा प्रक्रिया सुरु गरे । एक महिनासम्म पनि कम्पनीले सम्पर्क नगरेपछि उनले दुई साताअगाडि कम्पनीमा फोन गरी सोधपुछ गरेको बताए । उनले भने, ‘कम्पनीले तपाईंको फाइल बिमा समितिको पुगेको छ भन्यो । त्यसपछि सम्पर्क गरेको छैन ।’

धितोपत्र बोर्डमा नै कार्यरत दीपिका मास्केको पनि बिमा दाबी रकम सुरु गरेको साढे दुई महिना बितिसक्दा पनि भुक्तानी भएको छैन । काठमाडौं, महाराजगन्जनिवासी मास्केलाई ७ असोजमा कोरोना पोजेटिभ देखिएको हो । १४ दिनको होम आइसोलेसनपछि कोरोनामुक्त भएका मास्केले कार्यालयमार्फत १० असोजमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा बिमा रकम दाबीको प्रक्रिया सुरु गरिन् । तर, प्रक्रिया सुरु गरेको साढे दुई महिना पुग्न लाग्दा पनि कम्पनीले कुनै जवाफ नदिएको उनले बताइन् ।

तीन दिनमा भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री विष्णु पौडेलले तीन दिनमा कोरोना बिमा दाबी भुक्तानी गर्न बिमा समिति, बिमा कम्पनी र राष्ट्रिय बिमा कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्री पौडेलले कोरोना बिमा दाबी भुक्तानी मापदण्डबमोजिम कागजपत्र र प्रक्रिया पूरा गरेका दाबीको भुक्तानी गर्न निर्देशन दिएका हुन् ।

यसअघि १८ कात्तिकमा अर्थमन्त्री पौडेलले एक साताभित्रमा नै भुक्तानी गर्न निर्देशन दिएका थिए । तर, कम्पनीहरूले भुक्तानीमा आलटाल गरेपछि मन्त्री पौडेलले गत १८ मंसिरमा तीन दिनभित्र भुक्तानी गर्न अर्को निर्देशन दिएका हुन् ।

बिमा समिति आफैँले जारी गरेको कोरोना बिमा भुक्तानी मापदण्डमा पनि एक साताभित्रमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी, बिमितले कोरोना पोजेटिभ देखिनेबित्तिकै बिमित आफैँ वा आफन्तले मेल, फोन, पोस्ट वा प्रत्यक्ष उपस्थित भएर कोरोना बिमा दाबी प्रक्रिया सुरु गर्न सकिने व्यवस्था गरेको छ ।

बिमितले कोरोना दाबी गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य रिपोर्ट, होम आइसोलेसनमा बसेको भए वडा कार्यालयको सिफारिस र हस्पिटलमा भर्ना भएको भए हस्पिटलमा उपचार गराएको कुनै रसिद बुझाउनुपर्ने व्यवस्था गरेको छ । तर, २९ भदौअघि जारी भएका पोलिसीमा भने सिफारिस पेस गर्नुपर्ने व्यवस्था छैन । यद्यपि, कम्पनीहरूले भने सिफारिसलाई अनिवार्य गरेका छन् ।

कागजपत्र नै नपुगेको बिमा समितिको दाबी
कोरोना बिमा दाबी संख्यामध्ये ६० प्रतिशतले कागजपत्र नै पूरा नगरेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताएका छन् । उनका अनुसार कम्पनीहरूमा परेको कुल दाबी संख्यामध्ये १३ हजार दाबीको मात्रै कागजपत्र पुगेको छ । ‘मेलमार्फत पनि दाबी बुझिने हुँदा दाबी संख्या धेरै देखिएको हो । तर, कागजपत्र पुर्‍याउने बिमितको संख्या कम छ,’ उनले भने ।

कम्पनीमा कागजपत्रसहित दाबी गर्नेलाई तीन दिनभित्र भुक्तानी गर्न सकिने उनको दाबी छ । कोरोना बिमा दाबी गर्दा कागजपत्र पुगे–नपुगेको विषयमा बिमितलाई जानकारी नहुने उनले बताए । तर, एक पटक दाबी गरेपछि महिनाँैसम्म पनि कम्पनीले सम्पर्क नै नगर्ने गरेको पीडितहरूको गुनासो छ ।

कोरोना बिमा दाबीका लागि प्रक्रिया सुरु गरेको दुई महिना बितिसक्दा पनि कम्पनीले कुनै प्रतिक्रिया नदिएको पीडित टेकराज थामीले बताए । उनले गत १९ असोजमा नेको इन्स्योरेन्समा बिमा दाबीका लागि प्रक्रिया सुरु गरेका थिए । उनले भने, ‘कागजपत्र पुगेको छैन भने कम्पनीले खबर गर्नुपर्‍यो । खबर नगरेसम्म कसरी थाहा हुन्छ, कागज पुगेको हो वा होइन भनेर । अन्यथा भुक्तानी गर्नुपर्‍यो ।’

विश्वमा कोरोना महामारी फैलँदै गएपछि बिमा समितिले गत वैशाखको पहिलो सातादेखि कोरोना बिमा सञ्चालनमा ल्याएको हो । बिमा समितिले १ लाख र ५० हजार रुपैयाँ बिमांकको कोरोना बिमा सञ्चालनमा ल्याएको हो । १ लाख रुपैयाँसम्मको बिमालेखअन्तर्गत कम्पनीहरूले बिमा गर्दा प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ ।

त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकमबराबरको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । सामूहिक रूपमा कोरोना बिमा गर्दा सरकारले ५० प्रतिशत अनुदानको समेत व्यवस्था गरेको छ । त्यस्तै, चालू आवको बजेटमार्फत सरकारले राष्ट्रसेवकका लागि कोरोना बिमा निःशुल्क गरेको छ ।

कम्पनीहरूको अनुगमन सुरु
तीन दिनभित्र नै कोरोना बिमा दाबी भुक्तानी भए–नभएको अनुगमन गर्न बिमा समितिको निरीक्षण विभागको टोली खटिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘हामीले टोली खटाइसकेका छौँ । भोलि त्यसको रिपोर्ट आउँछ,’ उनले भने ।

कम्पनीहरूमा फेक पिसिआर रिपोर्ट आएका कारण दाबी भुक्तानीमा ढिलाइ भएको उनले स्पष्ट पारे । पौडेलका अनुसार १६ हजार ४ सय १५ वटा बिमा दाबीको मात्रै कागजपत्र पूरा भएको छ । जसमध्ये ७ हजार ३ सय ६८ वटा दाबीको कम्पनीहरूले ७१ करोड ७० लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

१ हजार ९ सय ४८ वटा दाबी भेरिफाईको प्रक्रियामा छन् भने २ हजार ५ सय ७ वटा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफाईका लागि अड्किएका छन् । १ सय २४ वटा महाशाखामा पठाउन तयार छ । ९ सय ८९ वटा दाबी भेरिफाई भएर कम्पनीमा फर्काइएका छन् । २५ वटाको दाबी नलाग्ने भएका छन् भने ३ हजार ४ सय ५४ भेरिफाईको प्रक्रियामा छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७