‘पहिले सञ्चो–बिसञ्चो सोध्थे, अहिले पार्टी फुट्छ कि फुट्दैन भनेर सोध्छन्’


२४ मंसिर २०७७, बुधबार
Thakur Gaire

काठमाडौं, २४ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट प्रचारप्रसार तथा प्रशासन विभाग, पाल्पाको सूर्य बुलेटिनको वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेतृत्वमा देखिएको झगडा तल्लो तहका कार्यकर्तासम्म आउन नहुने र झगडाको पछि नलाग्न कार्यकर्तालाई उनले अनुरोध गरे ।

आम कार्यकर्ताको भावना पार्टी एकता रहेकाले सचिवालयबाट हल नभएको समस्याको सामधान स्थायी कमिटीबाट गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले पार्टी एकताको विकल्प नै एकता र सुदृढीकरण रहेको धारणा राखे ।

पार्टी गहिरो सङ्कटमा रहेको बताउँदै उनले यस सङ्कटको समाधान पनि नेतृत्वबाट हुने विश्वास व्यक्त गरे। नेतृत्वबाट सिर्जित समस्या आफैँले नै समाधान गर्नुपर्ने धारणा उनको थियो । पहिला पार्टी अलग–अलग हुँदा एकता भइसकेको जस्तो देखिए पनि अहिले पार्टी एकता भएपछि मन विभाजित जस्तो देखिनु राम्रो नभएको उनले बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पहिले पार्टीका कार्यकर्ताको भेटमा सञ्चो–बिसञ्चो सोध्ने गर्थे, अहिले पार्टी फुट्छ कि फुट्दैन भनेर सोध्ने गरेको बताए । उनले पार्टीलाई माया गर्नेहरु सङ्कटले गर्दा डाँको छाडेर रोएको बताउँदै पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्ने बताए ।

उनले पार्टीमा देखिएका समस्या बैठकबाट हल गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्यले नेकपा पार्टी एकतालाई थप बलियो बनाउन आवश्यक रहेको बताए । उनले पार्टी बलियो हुँदा देश र जनताको हितमा काम हुने बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७