क्षेत्र बाँडफाँटको अन्तिम तयारीमा वाम गठबन्धन


२४ आश्विन २०७४, मंगलवार

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्ष चुनावका लागि वाम गठबन्धनमा सहभागी तीन दलबीच निर्वाचन क्षेत्र बाँडफाँट तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्र बाँडफाँट कार्यदलले उक्त जिम्मेवारी सोमबार टुंग्याउने भनिए पनि पार्टी एकता संयोजन समितिको बैठक र सत्ता गठबन्धनमा विकसित घटनाक्रमले प्रभावित तुल्याएको थियो ।3 Party cpn 4

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच गत मंगलबार भएको चुनावी तालमेल र एकीकरण अभियान घोषणासँगै क्षेत्र बाँडफाँट गर्न तीन दलको संयुक्त कार्यदल बनेको थियो । एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीनवटै दलका प्रतिनिधि कार्यदलमा छन् । एमाले र माओवादी केन्द्रबीच चुनावमा ६० र ४० प्रतिशतका दरले उम्मेदवार बाँडफाँट गर्ने सहमति बनेको छ । तर उक्त प्रतिशत नयाँ शक्ति, असन्तुष्ट राजपा र अन्य मधेस केन्द्रित नेतासहितलाई दिएर बाँकी रहेको संख्यामा बाँडफाँट गर्ने हो ।

‘करिब–करिब अन्तिममा पुगिसकेका छौं, केही दिनमै त्यसबारे टुंगोमा पुगी सार्वजनिक गर्छौं,’ कार्यदलका सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले भने । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सय ६५ र सातवटा प्रदेशसभामा ३ सय ३० सिट छन् । माओवादी केन्द्रलाई प्रतिनिधिसभातर्फ ४० प्रतिशतका हिसाबले ६६ जना हुने भए पनि अन्य नेतालाई पनि समावेश गर्नुपर्ने हुँदा उक्त संख्या घट्नेछ । एमालेले पनि सोही अनुपातमा घटाउनेछ । कम्तीमा ५५ वटा सिट प्रतिनिधिसभामा माओवादी केन्द्रलाई सुनिश्चित गर्ने तयारीमा एमाले छ । ‘कुराकानी भइरहेको छ, अन्य दलका नेता को–को हुने भन्नेले पनि धेरै निर्धारण गर्छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘कार्यदल बैठकले यसबारे अबको बैठकमा टुंग्याउनेछ, त्यसपछि हामी संयुक्त रूपमा निर्वाचन क्षेत्र सार्वजनिक गर्नेछौं ।’यो खबर बालकृष्ण बस्नेतले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७