उखु किसानको आन्दोलनप्रति गम्भिर बन्न सरकारलाई सांसद साहको ध्यानाकर्षण


२९ मंसिर २०७७, सोमबार
Prabhu Sah CPN

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले उखु किसानको आन्दोलनप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आफ्नो फेसबुक पेजमार्फत ध्यानाकर्षण गराउदै खेती किसानीबाटै जीविकोपार्जन गर्ने किसानको उखुको भुक्तानी नहुनु र किसानप्रति सरकार उदासीन हुनु दुःखद रहेको बताएका छन् । उखुको भुक्तानीका लागि सरकार स्वयमले किसानसँग गरेको सम्झौता समेत पालना नगरेको भन्दै आक्रोशित बनेका नेता साहले किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

ukhu kisan 1

नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका नेता साहले मधेश मात्र नभई सिंगो देशकै अर्थतन्त्रमा उखुको महत्वपूर्ण योगदान भएको भए पनि उखु किसानलाई मर्का पर्नु गÞलत भएको जिकिर गरे । चिनी बिक्री गरेर नाफा कमाई सकेका मालिकहरु चिनी उत्पादनका लागि कच्चा पदार्थ उपलब्ध गराउने किसानहरूको भुक्तानी दिन आनाकानी गर्ने ठग मालिकलाई सरकारले छुट दिनु विडम्बना भएको टिप्पणी गरेका हुन् ।

‘गत वर्ष (२०७६–९–१८) मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच भएको ५ बुंदे सम्झौता अनुसार विगत वर्षदेखि बाँकी रहेको चिनी उद्योगहरुबाट पाउनुपर्ने उखुको भुक्तानी हालसम्म पनि नपाएपछि किसानहरु पुनः आन्दोलित भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले लेखेका छन्, ‘सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने पनि विभिन्न मिलहरुबाट ६६ करोड़भन्दा बढी रकम उखु किसानहरुलाई भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।’

‘यसरी समग्र तराई मधेश क्षेत्र र त्यसमा पनि मुख्यतः प्रदेश २ को प्रमुख नगदेवालीको रुपमा रहेको उखुको भुक्तानीका लागि पनि बाध्य भएर मेहनती श्रमवीर किसानहरु पटक पटक आन्दोलित हुनुपर्ने स्थिति आफैंमा पनि दुःखद एवं विडम्बनापूर्ण स्थिति हो’, उनले थप लेखेका छन्, ‘उखु किसान आन्दोलनमा मेरो पनि समर्थन एवं ऐक्यबद्धता प्रकट गर्न चाहन्छु ।

साथै, किसानहरुको भविष्यसँग पटक–पटक खेलवाड़को दुष्साहस गर्ने उद्योगी, दलाल–विचौलिया लगायत जुसुकैलाई पनि कानूनी कार्वाहीको दायरामा ल्याउन तथा किसानहरुको सम्पूर्ण जायज मागहरुलाई तुरुन्त सम्बोधन गर्न नेपाल सरकारसँग जोडदार माग समेत गर्दछु ।’ यसअघिको सम्झौता पालना नभएपछि उखु भुक्तानीको माग राख्दै पीडित किसानले पुनः आन्दोलन चर्काएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७