संवैधानिक परिषद अध्यादेशबारे मन्त्रीहरु नै ‘बेखबर’


३० मंसिर २०७७, मंगलवार
5f0c7c255523c cabinate ashar29

काठमाडौं, ३० मंसिर । सरकारले भर्खरै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मन्त्रीहरु नै ‘बेखबर’ रहेको पाइएको छ ।

सरकारले आज (मंगलबार) ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे मन्त्रिपरिषदमा कुनै छलफल नभएको सरकारका मन्त्रीहरुले नै बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अब परिषद्का बहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्छ ।

तर मन्त्रीहरुले भने अध्यादेशबारे बेखबर रहेको बताए । मंगलबार बसेको बैठकमा यसबारे कुनै एजेण्डा नभएको र ठाडो प्रस्ताव समेत नआएको एक मन्त्रीले जानकारी दिएका छन् । विद्यमान व्यवस्थाअनुसार ६ जनाको परिषद्को बैठकको गणपुरक संख्याका लागि अध्यक्षसहित ४ जना सदस्य उपस्थित हुनैपर्ने प्रावधान छ ।

तर मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले सो प्रावधान संशोधन गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीकाप्रसाद ढकालले बताए ।
सो कार्यविधिको दफा ६ को उपदफा ३ को सो व्यवस्थालाई संशोधन गरी अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति भएमा त्यसलाई गणपुरक संख्या पुगेको मानिनेछ भन्ने नयाँ व्यवस्था गरिएको छ ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठक अध्यादेशबारे भने कुनै छलफल नभएको एक मन्त्रीले बताएका छन् । ‘आज अत्यन्त सामान्य र नियमित एजेण्डामा छलफल भयो । कुनै राजनीतिक विषयमा प्रवेश नै गरिएको थिएन,’ एक मन्त्रीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७