कांग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘देउवा परिषदको बैठकमा जानु हुन्न’


३० मंसिर २०७७, मंगलवार
bishwa

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा आज (मंगलबार) साँझ ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा नजाने भएका छन् ।

मंगलबार बिहान बसेको परिषदको बैठकमा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो । बैठक साँझ पुनः बस्ने भनिए पनि सरकारले दिउँसो परिषदसम्बन्धी अध्यादेश ल्याएपछि साँझको बैठकमा कांग्रेस सहभागी नहुने भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति एवं दलका नेता देउवा संवैधानिक परिषद बैठकमा सहभागी नहुने जानकारी दिएका छन् ।

‘सभापति देउवा संवैधानिक परिषदको बैठकमा सहभागी हुनुहुन्न’, शर्माले भने । उनले अध्यादेश ल्याउनु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै त्यस्तो कार्यमा काग्रेसको साथ नहुने बताए । कांग्रेसले संसद बैठक माग गरिरहेको ल्याएको अध्यादेश कांग्रेसलाई अस्वीकार्य हुने उनले बताएका छन् ।

यस विषयमा पार्टीभित्र थप छलफल हुने प्रवक्ता शर्मा जानकारी दिएका छन् । मंगलबार बिहानको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा सहभागी भएका थिएनन् । उपसभामुख रिक्त रहेको कारण संवैधानिक परिषदमा हाल कायम रहेका पाँचै जना उपस्थित हुनुपर्ने हुन्छ ।

तर सरकारले मंगलबार दिउँसो अध्यक्षसहित बहुमत सदस्यले निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याएको छ । अध्यादेश अनुसार पनि बैठकका लागिग बहुमत सदस्यको आवश्यकता पर्छ । प्रतिपक्षी दलको नेता देउवा सहभागी नहुने भएपछि संवैधानिक परिषदको बैठक नै अन्यौलमा परेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७