अध्यादेश तुरुन्तै फिर्ता लिनुपर्छ : वरिष्ठ नेता नेपाल


३० मंसिर २०७७, मंगलवार
Madhav Nepal ex PM scaled

काठमाडौं, ३० मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार संशोधन गर्ने अध्यादेश जारी गरेकी थिइन् ।
पार्टी र मन्त्रिहरुसँग समेत छलफल नगरी ल्याइएको अध्यादेश असंवैधानिक भएको भन्दै नेता नेपालले आपत्ति जनाएका हुन् । परिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीसहित तीन जना सदस्यले पनि निर्णय गर्न सकिने अध्यादेशमा उल्लेख छ ।

‘प्रधानमन्त्रीको कदमले हद पार गर्‍यो । अति भयो । उहाँले यसैगरी नै सबैखालका विधि, पद्धति छलफल मिचेर जुन खालका काम गरिरहनु भएको छ । यो अति नै गलत छ । कसैको विश्वास नलिइकन, पार्टीभित्र पनि विश्वास नलिने, प्रतिपक्षीको पनि विश्वास नलिने, संवैधानिक प्रश्नहरूमा सबैको सल्लाह परामर्शमा गर्नुपर्ने कुरामा नगर्ने उहाँको तरिका अत्यन्तै गलत छ । उहाँले तुरुन्तै अध्यादेश फिर्ता लिनुपर्छ । कुनै अन्यथा निर्णय गर्ने काम गर्नु हुँदैन’ नेता नेपालले भने ।

प्रधानमन्त्री ओलीले पार्टीलाई पनि विश्वासमा नलिएको र प्रतिपक्षको पनि विश्वास गुमाएको वरिष्ठ नेता नेपालले बताएका छन् । ‘छलफल गरेर टुंगो लगाउनुपर्ने विषयमा उहाँ जसरी एकलौटीरुपमा जाँदै हुनुहुन्छ, यो अत्यन्तै गलत कुरा हो’ नेपालले भने, ‘उहाँले तुरुन्तै अध्यादेश फिर्ता लिनुपर्छ । यस्तो तरिका फेरि दोहोरिन हुँदैन ।

प्रधानमन्त्रीले चालेको कमदका बारेमा बुधबार बस्ने स्थायी कमिटीको बैठकमा जोडदार कुरा उठ्ने पनि नेता नेपालले बताए । उनले भने, ‘भोलि बैठक बस्छ । त्यहाँ यस विषयमा जोडदार छलफल हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७