वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन


११ पुष २०७७, शनिबार
5315428f148f835bdb4185d22416638c w1000 h500 cp

काठमाडौं, ११ पुस । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ ।

नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकामा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको थियो । रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक थिए । उनी विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको समेत प्रशिक्षक रहेका थिए । पछिल्लो समय रिमाल खेलकूद विज्ञान प्रतिष्ठानको निर्देशकका रुपमा कार्यरत थिए ।

रिमाल प्रशिक्षकका रुपमा निकै सफल रहेको नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउँछन् । ‘रिमालको प्रशिक्षणमा नेपाली पुरुष तथा महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको छ’, अध्यक्ष शर्माले प्रशिक्षक रिमालको निधनप्रति दुःख व्यक्त गर्दै भने । प्रशिक्षक रिमालको निधनबाट नेपालको भलिबललाई अपूरणीय क्षति पुगेको उनको बुझाइ छ ।

भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट प्रशिक्षक रिमाललाई नेपालको भलिबलमा अहोरात्र खटिने व्यक्तिका रुपमा लिन्छन् । ‘नेपालको भलिबललाई अहिलेको अवस्थासम्म ल्याई पुर्‍याउन प्रशिक्षक रिमालको महत्वपूर्ण योगदान रहेको छ’, उनले रिमाललाई स्मरण गर्दै भने । राज्यले न्यून लगानी गरेको भलिबललाई उकास्न प्रशिक्षक रिमालले गरेको योगदानको भलिबल प्रशिक्षक, पदाधिकारी र खेलाडीले सदैव स्मरण गरिरहने प्रशिक्षक भट्ट बताउँछन् ।

पछिल्लो समय सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि प्रशिक्षक रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आएका थिए । खेलाडी काठमाडौं भन्दा बाहिर दुर्गम भेगमा रहेकाले उनीहरुलाई एकेडेमीमा राखेर प्रशिक्षण दिनुपर्छ भन्ने प्रशिक्षक रिमालको मुख्य माग थियो ।

प्रशिक्षक रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकूदमा रिमालले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । राखेपबाट एनआइस कोर्स गरेका रिमाल उत्कृष्ट भएपछि २०४५ सालमा डिप्लोमा कोर्स गर्न भारतको पटियाला गएका थिए । उनले पाकिस्तानबाट भलिबल प्रशिक्षणको ‘लेभल वान’ तथा बङ्गलादेशबाट ‘लेभल टु कोर्स’ गरेका थिए । रिमालले २०४७ सालमा नेपाली सेनाको केबलजङ्ग गणबाट प्रशिक्षणको शुरुआत गरेका थिए ।

श्रीलङ्कामा सम्पन्न १० औं सागमा महिला टोलीले कास्य पदक प्राप्त गर्दा रिमाल टोलीका सहायक प्रशिक्षक थिए । सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनशिपमा उनले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । उक्त प्रतियोगितामा उनले ऐतिहासिक रजत पदक दिलाएका थिए ।

बाह्रौं सागमा महिला टोलीले कास्य जित्दा पनि रिमाल प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा महिलाबीच भलिबल टोलीले १३ औं सागमा कास्य पदक प्राप्त गरेको थियो । राष्ट्रिय खेलकूद परिषद्ले आज बिहान राखेपमा श्रद्धाञ्जली सभाको आयोजना गरेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७