प्रदेश–१ का तीन मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी


१२ पुष २०७७, आईतवार
mukyamantri

विराटनगर, १२ पुस । प्रदेश–१ का सरकारका तीन मन्त्रीले आज (आइतबार) राजीनामा दिएका छन् । सत्तारूढ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका तीन प्रदेशमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् । ‘देशको घटनाले गर्दा हामीले राजीनामा दिएका हौं,’ राजीनामापछि जयमाया गजमेरले भनिन्, ‘हामीले घोषणा गरिसक्यौं । दर्ता भनेको प्राविधिक कुरा हो ।’

resign

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराई चुनाव घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै विभाजन भइसकेको छ । ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै अलग अलग बैठक गरिरहेका छन् । त्यसैको असर प्रदेश सरकारमा पनि देखिन थालेको हो ।

प्रदेश–१ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् । यही तयारीमा लागेको आरोपमा शनिबार मुख्यमन्त्री शेरधनले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए । अर्थमन्त्री आङबो यसअघि बादल समूहमा थिए । तर, प्रधानमन्त्री ओलीले संसद विघटन गरेर पार्टी विभाजन गरेपछि उनले बादलको साथ छाडेर प्रचण्ड–माधव समूहलाई साथ दिएका छन् ।

प्रदेश–१ का नेता शावित्रीकुमार काफ्ले पनि बादल समूहमै थिए । तर, बादल केपी ओलीको पक्षमा लागेपछि काफ्लेले पनि बादलको साथ छाडेका छन् । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह अर्थात शेरधन राईको पक्षमा २० जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४७ सांसद छन् । केही सदस्यहरु यता उता गरिरहेका छन् ।

पार्टी विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले संसदीय दलभित्रको बहुमत गुमाएका छन् । यसअघि माधव नेपाल पक्षले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता अनि मुख्यमन्त्री बनेका थिए । माधव नेपाल पक्षको साथ नपाएको भए ओली पक्षले प्रदेश–१ मा मुख्यमन्त्री पाउने सम्भावना यसअघि पनि थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७