अविश्वासको प्रस्ताव सुनियोजित हो, सहजै सामना गर्छु : मुख्यमन्त्री शेरधन राई


१२ पुष २०७७, आईतवार
Sherdhan Rai

विराटनगर, १२ पुस । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सहजै रुपमा सामना गर्ने दावी गरेका छन् ।

आफू सहज अवस्थामै त्यो प्रस्तावलाई सदनमा ‘फेस’ गर्न तयार रहेको बताएका छन् । निजी सचिवालयमार्फत आइतबारै भिडियो सन्देश जारी गर्दै राईले ‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट निर्देशित भएरै प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता ल्याउने, कमजोर बनाउने र संघीयतालाई संस्थागत हुन नदिन निर्देशित ढंगबाट अविश्वास प्रस्ताव आएको’ आरोप लगाए । तर, यसबाट आफू रत्तिभर पनि विचलित नभएको राईले बताएका छन् ।

उनले संघीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रुपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने जिकिर गरेका हुन् । उनले भने, ‘यसको सामना म आरामले गर्छु, किन आरामले गर्छु भन्दा विवेक भएका माननीय सदस्यहरु प्रदेशसभामा हुनुहुन्छ ।’

राईले आफूविरुद्ध आएको प्रस्ताव बनिबनाऊ, निर्देशित, सुनियोजित, चालबाजी र गोटी हो भनेर प्रदेशसभाका सदस्यले बुझेको दाबी गरेका छन् । संविधानलाई कार्यन्वयन हुन नदिन अनेक प्रयास हुँदै आएको बेला जनतालाई अपिल गरेर ठूलो जनमत प्राप्त गरेको राईको भनाइ छ ।

प्रदेश सरकारले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभाका ३७ सांसदको हस्ताक्षरमा आज (आइतबार) अविश्वास प्रस्ताव दर्ता भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७