पाहुना घुमाउने ठाउँ बन्यो अम्ब्रेला स्ट्रिट


१३ पुष २०७७, सोमबार
umbrella street

चितवन, १३ पुस । चितवन जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ ।

सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा गत वर्ष रु एक करोड ८६ लाख खर्च गरेर अम्रेला स्ट्रिटसहित पर्यटकीय पूर्वाधार बनाइएको थियो । वडाध्यक्ष विष्णु महतोका अनुसार शनिबार मात्र अम्रेला स्ट्रिट प्रवेशका लागि चार हजार ३०० जनाले रु २० को टिकट काटेका छन् ।

गएको फागुन १ गतेदेखि सञ्चालनमा आएको अम्रेला स्ट्रिट १४ दिन सञ्चालनमा आएपछि कोरोना कहरका कारण बन्द गरिएको थियो । कात्तिक १४ गतेदेखि पुनः सञ्चालनमा आएको हो । यससँगै दैनिकरुपमा आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । महतोले भने, ‘आन्तरिक पर्यटकले हामीलाई उत्साहित बनाएको छ ।’

चितवन र आसपासका जिल्लामा बाहिरी जिल्लाबाट आएका पाहुनाको घुम्ने ठाउँ पटिहानी बनेको उनले बताए । यसबाहेक काठमाडौँ, पोखरा, गोर्खा, विराटनगरलगायतका ठाउँबाट पनि आन्तरिक पर्यटक घुम्नका लागि यहाँ आउने गरेको महतोको भनाइ छ । अम्रेला स्ट्रिट र त्यहाँ रहेको कल्चरल क्यान्भासमा रमाउनेदेखि डुङ्गा शयर, हात्ती सफारी, जीप सफारी, थारु समुदायको खाना खाएर आन्तरिक पर्यटक रमाउने गरेको उनले जानकारी दिए ।

स्थानीय पत्रकार अपिल घिमिरेका अनुसार साँझमा सूर्यास्त र नजिकैबाट दुलर्भ एकसिङ्गे गैंडा नियाल्दै गर्दा आन्तरिक पर्यटक निकै रमाउने गर्दछन् । आन्तरिक पर्यटकको चहलपहलसँगै स्थानीय होटल, रेस्टुराँ व्यवसायी पनि लाभान्वित भएका छन् । पटिहानीमा मात्र आठ वटा ठूला होटल रहेका छन् भने १२ भन्दाबढी साना होटल रहेका छन् । आन्तरिक पर्यटक बढेसँगै रेस्टुराँ खुल्नेक्रम बढ्दो छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु एक करोड, भरतपुर महानगरपालिकाको रु ७१ लाख, वडा कार्यालयको रु १५ लाख संरचना निर्माणमा खर्च भएको छ । त्यहाँ ५२० वटा रङ्गीचङ्गी छाता, १० वटा कल्चरल क्यान्भास, सूर्यास्त अवलोकन क्षेत्रलगायतका संरचना निर्माण गरिएको छ ।

होटल एसोशिएशन पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलले कोरोना सङ्क्रमण कम भएसँगै आन्तरिक पर्यटक बढेको बताए । यहाँ घुम्न आउने पर्यटक वन र वन्यजन्तुसँग रमाउने गरेको उनको भनाइ छ । यसै क्षेत्रमा ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा छितामाई मन्दिर र विक्रम बाबासमेत रहेका छन् ।

त्यस्तै कमलपोखरी, लामीताल, तमोरताल अवलोकन र जिप सफारी, पैदलयात्रा, हात्ती सफारी गर्ने व्यवस्था पनि यहाँ गरिएको उनले जानकारी दिए । घटगाई क्षेत्रमा गाडा चढेर पनि आन्तरिक पर्यटकले मनोरञ्जन समेत लिने गरेका छन् । यहाँबाट निकुञ्ज मुख्यालय कसरामा अवस्थित घडियाल र गोही प्रजनन केन्द्रको पनि अवलोकन गर्न सकिन्छ । पटिहानी छितामाई क्षेत्रबाट निकुञ्जको बाटो भएर सौराहास्थित हात्ती प्रजनन केन्द्रसम्म जीप सफारी रूट रहेको पौडेलको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस क्षेत्रमा एकसिङ्गे गैँडा, बाघ, भालु, हरिण, मृगलगायतका जङ्गली जनावरको पनि अवलोकन गर्न सकिन्छ । राप्ती नदीमा डुङ्गा सयर, गोही, चराको अवलोकनका कारण यस क्षेत्रको फरक विशेषता रहेको छ । थारु, बोटे समुदायको वेशभूषा, संस्कृति प्रदर्शन र उनीहरुले खाने परिकारको पनि स्वाद लिएर पर्यटक रमाउने गरेको पौडेल बताउँछन् ।

ढोरपाटन र आसपासका पर्यटकीय गन्तव्यको विकासमा जोड

गण्डकी–गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुरुत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ढोरपाटनसँगै आसपासका पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत ढोरपाटन क्षेत्रको यात्रामा रहेको टोलीले आइतबार सरोकारवालाबीच गरेको अन्तक्र्रियामा वक्ताले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औँल्याए ।

तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताए । बराह ताललगायत धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न सकेमा ढोरपाटन आउने पर्यटकलाई ती गन्तव्यमा पुर्‍याउन सकिने उनले उल्लेख गरे ।

भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश सरकारले पनि कृषि, पर्यटन, जलस्रोत आदिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै प्रदेशभित्रका पर्यटकीय गाउँलाई प्रवद्र्धन र विकास गर्न लागिएको बताए । गाउँमा रहेका प्रकृति र संस्कृतिलाई पर्यटनमा जोड्न सकिएमा ग्रामीण पर्यटनमा धेरै सम्भावना बढाउने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टाईले कोरोनाले थलिएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै अब व्यवसाय बन्द नगरी खुलाउनुपर्ने आवश्यकता औँल्याए । ढोरपाटनसँगै आसपासमा जोडिएका पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने उनको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगरले ढोरपाटनको पूर्वाधार विकाससँगै यहाँका सर्वसाधारणको जीवनस्तर बढाउनेलगायतका कामलाई प्राथमिकतामा राखिएको बताइन् । ढोरपाटनमा सञ्चालित पाखाथर सामूदायिक घरबासका सञ्चालक पुनम बुढामगरले ढोरपाटनमा पर्यटकको आकर्षण बढिरहे पनि यहाँसम्म आइपुग्ने बाटोघाटोलगायतका समस्या रहेको बताइन् ।

आउने पर्यटकका लागि स्थानीय रातो च्याउ, आलुलगायतका स्थानीय उत्पादन खुवाउने गरेको बताउँदै उनले बन्दाबन्दीको अवधिमा भने सुरक्षा सजगता अपनाउँदै घरबास सञ्चालन नगरिएको बताइन् । भ्रमण टोलीले आज बाग्लुङका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकनसँगै पर्वतको भुकदेउराली सामूदायिक घरबासको प्रवद्र्धनात्मक भ्रमण गर्ने भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७