‘पैसा नलिई फर्कन्न भन्थे, न पैसा पाए, न फर्कन पाए’


१५ पुष २०७७, बुधबार
narayan rai ukhu kisab

काठमाडौं, १५ पुस । अन्नपूर्ण चिनी उद्योगबाट उनले उखुको बक्यौताबापत २४ लाख ६३ हजार रुपैयाँ उठाउन बाँकी थियो तर सर्लाहीको धनकौल गाउँपालिका–७ का किसान नारायण रायले खेती गर्न लिएको १८ लाख रुपैयाँ ऋण तिर्न सकेका थिएनन् ।

साहुकार र सहकारीको चर्को ब्याजको ऋणको दबाबमा रहेका उनी चिनी मिलबाट बक्यौता उठाइदिन सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनका लागि काठमाडौं आएका थिए ।

काठमाडौंको चिसोमा १६ दिनदेखि आन्दोलन गरेपछि सरकार र उखु किसानबीच २१ दिनभित्र बक्यौता उठाइदिने सहमति भयो । किसानले आन्दोलन फिर्ता लिए । तर, सरकारसँग उधारो सहमति गरेको भन्दै असन्तुष्ट नारायण राय यतिका दिन काठमाडौंमा आन्दोलन गर्दा पनि बक्यौता नउठेकोमा दबाबमा थिए । यहीबीच हृदयघातका कारण मंगलबार काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उनको ज्यान गयो ।

सरकारी तथ्यांकमा रहेको ६६ करोड २१ दिनमा भुक्तानी गर्ने सहमतिअनुसार आन्दोलन स्थगित गरेकोमा उनले फोनमार्फत असन्तुष्टि जनाएको सर्लाहीका प्रदेश सभा सदस्य केदारनन्दन चौधरीले बताए । ‘मलाई सोमबार साँझ फोन गरेको थियो । साथीहरूले आन्दोलन स्थगित गरेर राम्रो गरेनन् । सरकारले यसपटक पनि आश्वासन मात्र दिएको हो, पैसा दिलाउँदैन भनेर उनले चिन्ता पोखेका थिए,’ मंगलबार दिउँसो गंगालाल अस्पताल पुगेका चौधरीले भने ।

आफूले सरकारसँग सम्झौता भएको छ, पैसा पाइहालिल्छ, चिन्ता नगरी सुत्नु भने पनि उनले थप चिन्ता व्यक्त गरेको चौधरीले बताए । ‘बाँकी कुरा भोलि बिहान गरौँला भनेको थिएँ, तर बिहान यस्तो घटना हुन पुग्यो,’ चौधरीले भने ।

उनी काठमाडौं आएयता छिमेकी र आफन्तलाई फोन गरेर सबै पैसा लिएर मात्र गाउँ फर्कने कुरा गर्थे । काठमाडौं केन्द्रित आन्दोलनको दबाबका कारण उनले केही दिनअघि १ लाख ६० हजार रुपैयाँ चिनी मिलबाट आफ्नो बैंक खातामा जम्मा भएको थाहा पाएका थिए । उक्त कुरा उनले आन्दोलनको नेतृत्व गरिरहेका राकेश मिश्रलाई बताएका थिए ।

‘आइतबार दिउँसो माइतीघरस्थित आन्दोलनस्थलमै रायले डेढ लाख खातामा आएको भन्दै खुसी व्यक्त गरेका थिए । बाँकी पैसा नपाएसम्म आन्दोलन गर्नुपर्छ भनेर उहाँ (राय) उत्साहित हुनुहुन्थ्यो,’ मिश्रले भने, ‘तर, आज बिहान दुःखद निधन भएको छ ।’

सर्लाहीका पीडित किसानहरूको नेतृत्वमा २८ मंसिरबाट माइतीघरमा आन्दोलन सुरु गरेका थिए । काठमाडौंकेन्द्रित आन्दोलनका बारेमा रायले दुई–तीन दिनपछि सञ्चारमाध्यमबाट थाहा पाएका थिए । त्यसपछि काठमाडौं आएर आफ्नो पनि ठूलो रकम बक्यौता रहेको भन्दै आन्दोलनमा सहभागी हुन आउने बताएका थिए ।

‘उहाँ हामीभन्दा २–३ दिनपछि मात्र आन्दोलनमा सहभागी हुन आउनुभएको थियो । अधिकांश किसान साथीहरूलाई गौशाला–पशुपति धर्मशालामा राखिएको थियो । उहाँ भने जोरपाटीस्थित कृष्ण मन्दिर आसपासमा बस्नुहुन्थ्यो,’ मिश्रले भने ।

रायको मूल पेसा नै उखुखेती हो । ४–५ वर्षदेखि मिललाई उखु दिए पनि त्यसबापतको पैसा नपाउँदा उनी मानसिक चिन्तामा रहेको उनका आफन्तहरू बताउँछन् । गाउँघरमै उनले चर्को ब्याजमा उखुखेती गर्न र घरव्यवहार चलाउन ऋण लिएका थिए । यसपटक काठमाडौंकेन्द्रित आन्दोलनबाट पैसा आएपछि ऋण तिर्ने उनको योजना थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७