पुरानो लयमा फर्किंदै अर्थतन्त्र, कर्जाको माग बढ्न थाल्यो


१५ पुष २०७७, बुधबार
Sher

काठमाडौं, १५ पुस । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नुु अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत हो । यद्यपि अहिले कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा भएको देखिएको छ ।

गत वर्षको तुलनामा चालू आवको पाँच महिनामा २ खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको यो अवधिमा पनि अघिल्लो वर्षको तुलनामा कर्जा लगानी २ खर्ब १५ अर्बले बढेको थियो । गत असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी २९ खर्ब ३ अर्ब थियो । चालू आवको १० पुससम्ममा कर्जा लगानी ३१ खर्ब ४० अर्ब पुगेको छ ।

यो ८ प्रतिशतको वृद्धि हो । १० पुससम्म विभिन्न वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँ मात्र भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार पुस १० गतेसम्ममा बैंकहरूले ३७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ३१ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका थिए । २७ मंसिरसम्ममा निक्षेप ३६ खर्ब ९४ अर्ब र कर्जा ३१ खर्ब १ अर्ब रुपैयाँ थियो । त्यस्तै पछिल्लो एक सातामा कर्जा लगानी १७ अर्ब र निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चार महिनामा उपभोग्य कर्जा १०.१ प्रतिशतले बढेको छ । सरकारी वा संस्थागत ऋणपत्रको धितोमा लिने कर्जा र क्रेडिट कार्ड कर्जा क्रमशः २६.४ र १८.४ प्रतिशतले बढेको छ ।

त्यस्तै घरजग्गा व्यवसाय कर्जा १४.६ प्रतिशत, विज्ञापन क्षेत्रमा जाने कर्जा ४४.४ प्रतिशत, सेयर धितो कर्जा २१.६ र स्थिर सम्पत्तिमा लगानीका लागि दिइने कर्जा ११.९ प्रतिशतले बढेको छ । कृषि कर्जा बढे पनि चिया उत्पादनका क्षेत्रमा जाने कर्जा भने ३.५ प्रतिशतले घटेको छ । ७.४ प्रतिशतले बढेको कृषि कर्जा पनि उत्पादनभन्दा कृषि सेवातर्फ बढी गएको देखिएको छ ।

चालु आर्थिक वर्षका सुरुका चार महिनामा मदिराबाहेकका पेय पदार्थमा जाने कर्जामा २१.१ प्रतिशतले कमी आएको छ भने मदिरा क्षेत्रमा जाने कर्जामा ४.९ प्रतिशतले वृद्धि भएको छ । मुलुकमा कर्जाको माग बढी भइरहेकै बेला राष्ट्र बैंकले १ अर्ब ४० करोड बैंक तथा वित्तीय संस्थामा एक वर्षे मुद्दतीमा लगानी गर्ने भएको छ ।

यसैगरी सरकारलाई अल्पकालीन स्रोत जुटाउन नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १२ करोड बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएपछि बजारमा थप लगानीयोग्य रकम बढ्ने भएको हो । केन्द्रीय बैंकले विकास बैंकमा २१ करोड र वित्त कम्पनीहरूमा ७ करोड बराबरको रकम पनि लगानी गर्ने भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७