विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजा


१५ पुष २०७७, बुधबार
diwa khaja
फाइल फोटो

चितवन, १५ पुस । चितवनको माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८९२ विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको हो । नगरपालिकाले एक विद्यार्थीलाई दैनिक रु १५ का दरले विद्यालयमा बजेट पठाएर दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए ।

उनले भने, ‘विपन्न परिवारका विद्यार्थीले बीचमा विद्यालय छाड्ने क्रम बढेसँगै यो कार्यक्रम लागू गरिएको हो ।’ विद्यालयमा विद्यार्थीहरुबीच एकरूपता ल्याउनका लागि सबै विद्यार्थीलाई कार्यक्रममा समावेश गरिएको हो । विद्यालयलाई विद्यार्थीका लागि हप्तामा छ दिन फरक–फरक किसिमका खाजा खुवाउन नगरपालिकाले परिपत्र समेत गरेको छ ।

सबै विद्यालयलाई खाजामा एकरूपता ल्याउन नगरपालिकाले खाजासमेत तोकेर पठाएको छ । खाजामा लिटो, अण्डा, चना, खिर, भुजा–चनालगायतका खानेकुरा विद्यार्थीलाई दिउँसोमा दिइने गरिएको छ । उनले भने, ‘विद्यार्थीबीचको वर्गीय विभेदको अन्त्य, समानता, अपनत्व र सद्भावको विकास गर्न सकियोस् भन्ने उद्देश्य हो ।’ विद्यालयमा दिवा खाजा कार्यक्रम नहुँदा १५ देखि २० प्रतिशतसम्म विद्यार्थीले विद्यालय छाडेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७