‘नेपालमा विवादास्पद छवि नभएका राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल हुँदैैछ’


१५ पुष २०७७, बुधबार
ShyamSharan

काठमाडौं, १५ पुस । नेपालका लागि भारतका पूर्व राजदूत श्याम शरणले चिनियाँ पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा पुनर्स्थापना गर्न र राजीनामा दिन मनाउने प्रयास गरिरहेको दावी गरेका छन् ।

पूर्व विदेश सचव समेत रहेका शरणले भारतीय अखबार द ट्रिब्युनमा मंगलबार एक लेख लेख्दै भनेका छन्, ‘ओलीलाई नेतृत्व परिवर्तन र प्रतिनिधिसभा पुनर्स्थापनाका लागि मनाउने प्रयास गरिएको बुझिएको छ । उनलाई राजीनामा दिन लगाउँदै, विवादास्पद छवि नभएका राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास गरिएको छ । तर ओली भने त्यसलाई प्रतिवाद गर्ने पक्षमा देखिएका छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले नेकपाको भविष्य जतासुकै लगे पनि नेपालको प्रजातन्त्र र राजनीतिक स्थिरताका साथै आर्थिक समृद्धिमा भन्ने धक्का पुग्ने शरणले उल्लेख गरेका छन् ।
शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको उल्लेख गरेका छन् । शरणले नेकपाभित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेफ्रीको भूमिका निर्वाह गरेको बताएका छन् । उनले यान्छीलाई ‘चाइनिज एक्टिभिस्ट एम्ब्यासडर’ को संज्ञा पनि दिएका छन् ।

नेपाल मामिलाका जानकार मानिने शरणले चीनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित चार सदस्यीय टोली पठाएर नेकपालाई एकीकृत नै राख्ने प्रयास गरेको पनि लेखमा उल्लेख गरेका छन् । नेकपाभित्रको विवाद मिलाउन चीन सक्रिय रहे पनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्ने उनले बताएका छन् । ‘हामीले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई पर्ख र हेरको रणनीति अपनाएर मात्रै अघि बढ्नुपर्छ,’ उनले भनेका छन् ।

त्यस्तै शरणले नेपालको पछिल्लो राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको आशंका व्यक्त गरिएको चर्चा गरेका छन् । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावित ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको हुन सक्ने आशंका व्यक्त गरिएको उनले बताएका छन् ।

‘पछिल्लो संकटमा अमेरिकी भूमिका रहेको आशंका गरिएको छ । ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताको प्रचण्ड र नेकपाका अन्य नेताहरुले विरोध गरेका थिए तर ओलीले भने यो प्रस्ताव पास गर्न स्वीकृति दिएका छन् । एमसीसीको विरोध गर्नेहरु चीनको इसारामा चलेको बताइएको छ,’ शरणले लेखेका छन् ।

उनले नेपालमा अमेरिका र चीनबीचको ‘पावरप्ले’ का कारण भारत ‘साइड सो’ बन्ने खतरामा रहेको दाबी गरेका छन् । ‘अमेरिकाले नेपाललाई प्रयोग गरेर तिब्बतमा भइरहेका मानवअधिकार हननलगायतका मुद्दा उठाएर चीनलाई कमजोर बनाउन खोजेको पनि बताइएको छ,’ शरणले लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७