विद्युतीय ग्रिड सुधारका लागि एडीबीले १८ अर्ब २५ करोड ऋण दिने


१५ पुष २०७७, बुधबार

काठमाडौं, १५ पुस । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) सँग १५६ मिलियन डलर अर्थात १८ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा भएको कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका छन् ।

सहसचिव नेपालले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत प्रशारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने तथा नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको लागत झण्डै २२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी देशमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७