रसुवा भन्सारको निर्माण कार्य ४५ प्रतिशत पूरा


१५ पुष २०७७, बुधबार
thumb 1 3

रसुवा, १५ पुस । नेपालको उत्तरी नाका रसुवामा निर्माण हुन लागेको एकीकृत भन्सार भवनको निर्माण कार्य धमाधम अगाडि बढेको छ ।

भन्सार, अध्यागमन, मुद्रा सटही बैंकलगायतका निकाय एउटै भवनमा स्थापित गराई भन्सारको सेवा छिटो छरितो प्रदान गर्ने उद्देश्यले सीमा क्षेत्रको ऐतिहासिक गढीमा चार तल्ले एकीकृत भन्सार र सुरक्षा अङ्गका लागि छुट्टै पाँच तल्ले समेतका दुई वटा भवनको निर्माण कार्य अगाडि बढेको हो ।

रविना र श्यामसुन्दर निर्माण सेवा जेभी निर्माण सेवाद्वारा निर्माण कार्य अगाडि बढेको उक्त एकीकृत भवनको पहिलो तल्लाको ढलान र सुरक्षा भवनको पिल्लर उठाउने काम सम्पन्न भएको हो ।

निर्माण कार्यमा हाल ३५ मजदूर कार्यरत रहेका र एकीकृत भन्सार भवनको समग्र प्रगति ४५ प्रतिशत रहेको निर्माणमा संलग्न प्राविधिकले बताएका छन् । एकीकृत भन्सारको हाताभित्र राखिने सुरक्षा अङ्गको ब्यारेक भवन निर्माणका लागि जगको सतह मिलाइ पिल्लर उठाउने काम भइसकेकाले १२ प्रतिशत मात्र प्रगति हासिल गरेको साइटइञ्चार्ज इञ्जिनीयर योगेन्द्र तुम्बाहाम्फेले जानकारी दिए ।

रु ५४ करोड ८५ लाख ५५ हजार ८२९ को लागतमा एकीकृत भन्सार, सुरक्षा ब्यारेक एवं दायाँतर्फको पहरामा जाली राख्ने कामसमेत एकसाथ काम अगाडि बढिरहेको छ । पहराको फेदमा भवन निर्माण हुने र दायाँतर्फ रहेको पहराको माथिबाट खस्न सक्ने ससाना ढुङ्गा ओछ्याउने सुरक्षा नीतिअनुरूप भिर पहरालाई तारजालीले घेराबार लगाउने अवधारणा ल्याइएको जनाइएको छ ।

दुई वर्षभित्र एकीकृत भवन निर्माण कार्य सम्पन्न गर्न २०७४ सालको असार १९ गते ठेकेदार कम्पनीलाई कार्यादेश दिए पनि लामो समयको अन्तरालमा बल्लबल्ल भवनको पहिलो एक तल्ला मात्र ढलान भएको छ । भवन निर्माणको शुरुदेखिनै समय समयमा काबुभन्दा बाहिरको परिस्थिति उत्पन्न भइरहने भएका कारण सम्पन्न गर्न अझै दुई वर्ष लाग्न सक्ने कार्यरत प्राविधिकको अनुमान गरेका छन् ।

उता ठेकेदार कम्पनीले भने निर्माणस्थलमा ठूलाठूला चट्टान भएकाले जगको सतह सम््याउनै लामो समय खर्चिनुपरेको र अर्काेतर्फ विद्युत्को थ्रिफेज लाइन लिन समय लागेको, वर्षाका कारण सडक मार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा कठिनाइ र धेरै सामान भण्डारण गर्ने ठाउँको अभाव जस्ता समस्याले निर्माणमा ढिलाइ भएको बताइएको छ ।

हाल चिसोका कारण पहरामा तारजाली ओछ्याउने नटबोल्ट राख्ने काम फागुनसम्मका लागि स्थगन भएको र भवनको काम भने द्रुतरूपमा अगाडि बढ्ने ईञ्जिनीयर तुम्वाहाम्फेले जानकारी दिए । रसुवागढीको ऐतिहासिक पर्खाल नजिक भन्सार भवनका संरचना निर्माणको काम अगाडि बढिरहेको छ ।

  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७