विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही, उपकरण जफत


१६ पुष २०७७, बिहीबार
Electricity Leakage

सप्तरी, १६ पुस । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो संख्यामा जफत गरेको छ ।

प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरण समेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।

कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिए । उनीहरुबाट रु तीन लाख दुई हजार ५४९ राजस्व असुली समेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहका अनुसार विद्युत् चोरीमा संलग्नलाई न्यूनतम तीन हजारदेखि विद्युत् खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताए ।

यस अवधिमा ५० लाखभन्दा बढी बक्यौता पनि उठाइएको छ । यता समयमै महसुल नबुझाउने १४० ग्राहकको लाइन यस अवधिमा काटिएकामा १२७ जनाबाट रु ५७ लाख २४ हजार ८५३ असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारी रहेको इञ्जिनीयर साहको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजअन्तर्गत कूल ५१ हजार ९८७ ग्राहक छन् । विद्युत् चोरीमा संलग्नलाई धमाधम कारवाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत् हुकिङ गरेर चोरी गर्नेको संख्या अहिले घट्दै गएको तर पूर्ण नियन्त्रणमा भने हुन नसकेको केन्द्रका प्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७