ओलीको असंवैधानिक कदमका कारण देशमा संकट निम्तियो : देउवा


१६ पुष २०७७, बिहीबार
deuba non glass

काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका कारण देशमा संकटको अवस्था निम्तिएको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा गरिएको भर्चुअल संवादमा सभापति देउवाले प्रतिनिधिसभा विघटन गरेर ओलीले स्थिरतातर्फ लम्कँदै गरेको देशलाई संकटमा धकेलेको बताए । जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेक्रममा रहेकै बेला ओलीले असंंवैधानिक कदम चालेकाले कांग्रेसले देशव्यापी विरोध गरेको उनको भनाइ छ ।

sherbahadur deuwa

यसबारेको मुद्दा अदालतमा भएकाले दबाब नदिइएको भन्दै देउवाले भने, ‘अहिले यो विषय सर्वोच्च अदालतमा छ । हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्चलाई स्वतन्त्र रुपमा निर्णय गर्न वातावरण बनाइरहेका छौँ ।’ सर्वोच्चले डर, त्रासमा नपरी स्वतन्त्ररुपमा निर्णय गर्ने वातावरण बनोस् भनेर कांग्रेसले आन्दोलन रोकेर फैसला कुरिरहेको तर्क देउवाको थियो ।

देउवाले भने, ‘ओलीजीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नु भएको छ । देशभरि नै हाम्रो पार्टीले यो कदमविरुद्धमा आवाज उठाइरहेको छ । आफ्नो निर्वाचन क्षेत्र लगायत देशभरि नै हामीले आफ्नो परिस्थिति बनाइरहेका छौं ।’

बीपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता झनै बढेको भन्दै सभापति देउवाले भने, ‘बीपी कोइराला सिक्किमलाई भारतमा गाभिएपछि नेपालमाथि पनि संकट आउन लाग्यो भन्दै राष्ट्रिय मेलमिलाप नीति लिएर फर्कनुभएको थियो । त्यही जगमा ०४६ सालको जनआन्दोलन भयो र प्रजातन्त्र पुनस्र्थापना भयो ।’

देउवाले आफूहरुलाई एक दलीयता कुनै हालतमा स्वीकार्य नहुने भन्दै नेपालका कम्युनिष्टहरुले पनि लोकतन्त्र मानेर आफूहरुसँगै सहयात्रा गरेर यहाँसम्म आइपुगेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७