‘पैसा ल्याउने आस थियो, लास आयो’

१९ जनाको थाप्लोमा तीनवटा बैंकको २५ लाख ऋण


१७ पुष २०७७, शुक्रबार
suger death 20201231112513

सर्लाही, १७ पुस । ६४ वर्षीय उखु किसान नारायण राय यादवको आन्दोलनकै क्रममा मृत्यु भएपछि परिवारका सदस्य बिचल्लीमा परेका छन् । सर्लाहीको धनकौल गाउँपालिका–७ का यादवको परिवारमा १९ जना छन् । तीन बैंकको २५ लाखभन्दा बढी ऋण रहेको यादवका जेठा छोरा सीयाराम रायले बताए ।

‘ऋण भए पनि बुवा हुँदा हामीलाई कुनै चिजको चिन्ता थिएन । बुवाले नै घरव्यवहार चलाउनु हुन्थ्यो । अब हामी अभिभावकविहीन बनेका छौं’, सीयारामले भने । सीयारामका अनुसार उनका बुवा नारायणले खेती गर्न र ट्याक्टर किन्न तीन वटा बैंकसँग ऋण लिएका हुन् ।

‘सर्लाही सदरमुकाम मलंगवाका द–सहाराबाट १४ लाख, सहारा विकासबाट ५ लाख र गाउँकै सवलम्बन सहकारीबाट ६ लाख ऋण लिनुभएको थियो’, उनले भने, ‘द–सहाराबाट बुवाको नाममा ७ र मेरो नाममा ७ लाख ऋण छ । गाउँको सहकारीबाट बुवाले मेरो र कान्छो भाइ जियालालको नामबाट ३र३ ऋण निकाल्नु भएको थियो ।’

बुवा नै बितेपछि कसरी ऋण तिर्ने भन्ने चिन्ता थपिएको उनले सुनाए । सहारा विकासको ऋण बुवाकै नाउँमा रहेको उनको भनाइ छ । उनका अनुसार धनकौलस्थित अन्नपूर्ण सुगर मिलबाट उखुको बक्यौता २४ लाख रुपैयाँ उठाउन बाँकी छ । उद्योगले पैसा दिए ऋण तिर्न सकिन्थ्यो । ‘०७३–७४ को २ लाख र ०७४–७५ को २२ लाख बाँकी छ । उखु दियौं तर उद्योगीले पैसा सट्टा बुवाको ज्यान लिए’, उनले भने, ‘उद्योगीले समयमा पैसा दिएको भए हामी टुहुरा हुँदैनथ्यौं । उद्योगीका कारण हाम्रो परिवार अहिले बर्बाद भएको छ ।’

यो परिवारले खेत बेचेर भए पनि ऋण तिर्नुपर्ने अवस्था छ । दिनानु दिन बैंकको ब्याज बढ्दो छ । जसरी भए पनि ऋण तिर्न पाए हुन्थ्यो भन्ने छ । तर, पैसा नै नभएपछि कसरी तिर्नु ? ‘खेत पनि बागमती नदीको बगरमा छन्’, सीयारामले भावुक हुँदै भने, ‘कुनै वर्ष उब्जनी हुन्छ, कुनै वर्ष बाढीले सखाप बनाउँछ ।’ खेतको भाउ पनि त्यति राम्रो छैन। सस्तोमा बेच्नुपर्ने बाध्यता छ । सबै खेत बेच्दा पनि ऋण तिर्न सकिँदैन ।’

घरमा तीन दाजुभाइ छन् । आर्थिक अवस्था कमजोर भएका कारण पढाइलेखाइ गर्न नसकेको उनको भनाइ छ । ‘सबै जना कृषिमै लागेका छौं । १९ जनाको परिवार छ । जसोतसो परिवार पाल्नुपरेको छ’, उनले भने ।

नारायण गाउँका किसानसहित आन्दोलन गर्न मंसिर २८ गते काठमाडौं गएका थिए । ‘यसपालि पैसा लिएरै घर आउँछु भनेर बुवा जानुभएको थियो । तर, न पैसा लिएर आउनुभयो न खाली हात’, उनले भने, ‘पैसाको साटो कात्रोमा बेरिएर मृत शरीर घरमा आइपुग्यो ।’

सरकारसँग सहमति भएपछि पैसा पाउने आशा पलाएको थियो । ‘बुवाको नाममा १ लाख ६५ हजार र मेरो नाममा २६ हजार रकम खातामा आएको थियो। बुवाले केही पैसा गएको छ, हेर्नू भनेर फोन गरेर भन्नुभएको थियो । बाँकी पैसा ७ दिनमा दिएपछि पैसा लिएरै घर आउँछु भनेर फोन गर्नुभएको थियो’, उनले भने, ‘तर, गत मंगलबार बिहान अचानक फोन आयो ।

बुवाले नै गर्नुभएको थियो । फोनमा बुवाले शौच गर्न शौचालय गएका बेला बेहोस भएर लडेको घटना सुनाउनु भयो । घरबाट उपचार गराउनका लागि आऊ पनि भन्नुभयो । घरबाट जादाँ समय लाग्छ भनी मैले सँगै गएको गाउँका एक जना किसानलाई फोन गरी बुवालाई उपचार गराउन अस्पताल लैजानू म आउँदै छु भनें । तर, केही बेरमा फेरि फोन आउँदा बुवाको मृत्यु भएको खबर सुन्नुपर्‍यो ।’

उनले बुवाको मृत्युको खबर सुनेपछि पाँच जना लिएर काठमाडौं गएको सुनाए । ‘बुधबार बिहान २ बजे मृत शरीर ल्याएर घरछेउमा बुवाले नै जग्गा दान दिएर बनाउनुभएको कृष्ण प्रणामी मन्दिरछेउमा समाधि दिएका छौं’, उनले भने । अग्निमा प्रवाह नगरी खाल्डो खनेर चारैतिरबाट इँटाको बार जोडी समाधि दिएको उनले सुनाए ।

उनले बुवाको मृत्युको खबरले आमा सोनावती देवी अचेत रहेको सुनाए । सोनावतीको उपचार घरमै भइरहेको छ । ‘आमालाई अहिले स्लाइन चढाएर राखेका छौं । छिनछिनमा मुर्छा पर्नुहुन्छ’, उनले भने ।

उनले बुवाको मृत्युपछि कृषि मन्त्रालयले २५ हजार सहयोग गरेको बताए । अरु कतैबाट सहयोग नआएको उनको गुनासो छ । स्थानीय मनोज यादवले आफूले उब्जाएको अन्नबालीको पैसा लिन ज्यानै दिनुपर्ने यो कस्तो जमाना आएको भन्दै गुनासो गरे । किसानको ‘हत्या’ गर्ने उद्योगीलाई राज्यले कारबाही गर्नुपर्ने माग मनोजको छ । नारायणलाई कृषक शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र परिवारको एक जनालाई रोजगार दिनुपर्ने माग आफूहरूको रहेको मनोजले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७