प्रतिनिधिसभा विघटन हुनु दुःखद : दीनानाथ शर्मा


१७ पुष २०७७, शुक्रबार
dinanath sharma 1

काठमाडौं, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभा दलका नेता दीनानाथ शर्माले पार्टीको किचलोका कारण प्रतिनिधिसभा विघटन हुनु दुःखद् भएको बताएका छन् । राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताएका छन् ।

राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको साताँं अधिवेशनका क्रममा मन्तव्य राख्दै उनले आफ्नो पार्टी विभाजनको सङ्घारमा रहेको र प्रतिनिधिसभा विघटन भएको विशिष्ट परिस्थितिमा यो सभा सञ्चालन भइरहेको बताए । ‘वर्तमान सङ्घीय संसद् गठनपछि आफ्नो राजनीतिक इतिहासमा सबैभन्दा खुशी थिए तर पार्टी फुटपछि आज मुटु चिरिएको अनुभव गरेको छु’, नेता शर्माले भने, ‘पार्टी विभाजन कुनै सिद्धान्तका आधारमा नभई राजनीतिक कारणले मात्र भइरहेको छ, यो दुःखद हो ।’

नेता शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताए । उनले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाले नीति निर्माण गरेर सरकारलाई सघाउने र खबरदारीको काम गर्ने विश्वास व्यक्त गरे । नेता शर्माले जनचासोका विषय प्रकट हुने अहिले यो सभा मात्र भएको बताए । उखु किसानको आन्दोलनका क्रममा एक जना किसानको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७