सांसद देवको प्रधानमन्त्रीलाई प्रश्न : अल्पमतमा परें भनेर देशलाई खाल्डोमा जाकिदिने ?


१७ पुष २०७७, शुक्रबार
jitendra dev

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका नेता जितेन्द्र देवले प्रधानमन्त्रीले आफू समस्यामा परेपछि मुलुकलाई नै खाल्डोमा हाल्ने काम गरेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) राष्ट्रियसभाको बैठकमा बोल्दै उनले पार्टीभित्र समस्यामा परेपछि प्रधानमन्त्रीले जननिर्वाचित निकाय संसदमाथि आक्रमण गरेको बताएका हुन् । ‘तपाईलाई पार्टीभित्र समस्या भयो, तपाईलाई पार्टीभित्र कसैले काम गर्न दिएन । यो देशको समस्या होइन, यो तपाईको समस्या हो’ उनले भने, ‘कि त तपाईले पार्टीभित्र विश्वास कायम गर्न सक्नुपर्‍यो, कि अल्पमतमा परेपछि राजीनामा दिएर अर्को नेता बनाउनु पर्‍यो । तपाई पार्टीभित्र समस्यामा पर्ने अनि पार्लियामेन्ट (संसद) मा आक्रमण गर्ने ? देशलाई खाल्डोमा जाकिदिने ?’

नेता देवले दुनियाँको कुनै पनि देशभक्त, अग्रगमन चाहने, जनताको प्रतिनिधि हामी नै हौं भन्ने व्यक्तिले संसदमाथि आक्रमण गर्न नसक्ने पनि बताएका छन् । प्रधानमन्त्रीको कदमका कारण देश ठूलो राजनीतिक दुर्घटनातर्फ गएको पनि उनले बताए । संसद विघटनलाई नेपाली कांग्रेसले राजनीतिक रुपमा असंवैधानिक र अलोकतान्त्रिक भनेको पनि बताए । यसको ब्याख्या सर्वोच्च अदालतले गर्ने र त्यसलाई स्वीकार गर्ने देवले राष्ट्रियसभालाई जानकारी गराए ।

संविधान निर्माणका क्रममा नै मुलुकमा स्थिरता कायम गर्न र कार्यकारी निकायले संसदमाथि आक्रमण नगरोस् भनेर संसद विघटनका लागि कडा प्रावधान राखेको उनले बताए । ‘संविधानको धारा ७६ को १ देखि १० सम्म कहीँ पनि बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन’ उनले भने, ‘अन्तिम समयसम्म पार्लियामेन्टलाई टेस्ट गर्न दिनुपर्छ । (प्रधानमन्त्री) बनाउनै सकेन भने मात्र प्रतिनिधिसभाले विघटनको निर्णय लिएर राष्ट्रपतिकहाँ जाने हो ।’

संसद जनप्रतिनिधिमूलक निकाय भएकाले कार्यकारिणीले आक्रमण गर्न नपाओस् भनेर संविधानमै यस्तो व्यवस्था गरिएको भन्दै उनले प्रश्न गरे ‘हाम्रो व्यवस्था संसदको सर्वोच्चता हो कि प्रधानमन्त्रीको सर्वोच्चता हो ?’ नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्र नारायण देवले अहिलेको संविधानले विद्यमान संसदमा सरकार बनाउने क्षमता पटक पटक परीक्षण नभएसम्म प्रतिनिधि सभा विघटन हुनै नसक्ने बताएका छन् । उनले नेपालको संविधानको धारा ७६ को कुनै पनि उपधारामा कहिं पनि बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७