कानुनी राज्यमा ‘सेटिङ’ कुरा हावा हो, कानुन अनुसार सूर्य चिन्ह हाम्रो हुन्छ : योगेश भट्टराई

‘हाम्रो संघर्ष ओलीको अन्त्यको लागि होइन, ओलीको राजनीतिक जीवन रक्षाको लागि हो’


१८ पुष २०७७, शनिबार
Yogesh Bhattarai 1

झापा, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले कानुनी राज्यमा सबै काम कानुनअनुसार हुने उल्लेख गर्दै सूर्य चिन्ह सुर्य आफूहरुकै हुने बताएका छन् । कानुन अनुसार प्रचण्ड र माधवकुमार नेपाल समूहले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको जिकिर गर्दै भट्टराईले ‘सेटिङ’को हावा भएको बताए ।

शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध झापाको विर्तामोडमा आयोजित विरोधसभामा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोग, अदालत सबैतिर सेटिङ गरेको कुरा भन्नु गलत हुने बताए । भने,‘तपाईंहरु ढुक्क रहनुस् । प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोग, अदालत सबैतिर सेटिङ गरेका छन् भन्ने कुरा ‘हावा’ हो । कानुनी राज्यमा सबै काम कानुनअनुसार हुन्छ । कुनै सेटिङ–फेटिङले काम गर्दैन ।’

भट्टराईले दल सम्बन्धि ऐनअनुसार नै नेकपा पार्टी, हसिया–हतौडा अंकित झण्डा र चुनाव चिन्ह सूर्य आफूहरुको हुने दाबी गरे । नेता भट्टराईले कानुनी राज्यमा केपी ओलीले गरेका कुनै ‘सेटिङ’ काम नलाग्ने बताए ।

नेता भट्टराईले ओलीको राजनीतिक जीवन रक्षाका लागि पनि आफूहरु सडक संघर्षमा उत्रिनु परेको बताए । उनले ओलीले आफ्नो राजनीतिक जीवन, पार्टी र मुलुकलाई ठूलो दुर्घटनामा पारेको टिप्पणी गरे । ‘हाम्रो संघर्ष ओलीको अन्त्यको लागि होइन । उहाँ (ओली) को राजनीतिक जीवन रक्षाको लागि हो’ उनले भने, ‘कम्युनिष्ट पार्टीको कार्यकर्ता तथा पार्टी र मुलुक निर्माणका लागि लामो समय सँगै हिँडेकाले पनि उहाँको जीवन रक्षा गर्नुपर्ने हाम्रो जिम्मेवारी हो ।’

केपी ओली फेरि फर्किएर आए आफूहरू माफी दिन तयार भएको उनले बताए । ‘प्रधानमन्त्रीज्यू तपाईं भड्खालोमा जाँदै हुनुहुन्छ । फर्कनुहोस् । तपाईंलाई हामी माफी दिन तयार छौँ । तपाईंजस्तो हामीबाट निषेध गर्ने काम हुँदैन’, उनले भने, ‘आउनुस् एकपटक पार्टीलाई एक ढिक्का बनाएर अघि बढौँ । दुई वर्ष मिलेर पार्टी र सरकार चलाऔँ । फेरि पार्टीको बहुमत आउँछ ।’

उनले केपी ओलीलाई जे मन लाग्यो त्यही नगर्न चुनौती पनि दिए । उनले ओलीले पार्टीको बैठकबाट भागेर कार्यकर्ता र देशलाई धोका दिएको दाबी गरे । उनले ठूलो जेट विमानको एक पाइलटले विमान दुर्घटना गराएको दाबी गरे । पूर्वमन्त्री भट्टराईले ओलीलाई राजनीतिबाट विश्राम लिएर आराम गरेर बस्न सुझाब दिए । ‘अब ओलीको राजनीतिक जीवन समाप्त भयो’, उनले भने, ‘ओलीलाई अब आराम गर्न तपाईं कार्यकर्ताले सुझाब दिनुस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७