चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा


२१ पुष २०७७, मंगलवार

काठमाडौं, २१ पुस । संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत शुक्रबारदेखि सोमबारसम्म ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ राजस्व छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले चार दिनको अवधिमा कुल १ अर्ब ९७ करोड ७४ लाख ६४ हजार ९४७ रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

विभागका अनुसार गत शुक्रबार एकै दिन नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो । सोमबार भने विभागले पुनः नक्कली भ्याट बिलको कारोबार गर्ने व्यवसायी प्रदीप साहलगायत १० जनाविरुद्ध ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले सोमबार सर्लाही धनकौल गाउँपालिका–६ का मुख्य कारोबारी साहले आरकेएम ट्रेडिङ प्रालिलगायत विभिन्न १३ वटा फर्म कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा दर्ता गरी सञ्चालन गरेको फेला पारेको छ ।

अनुसन्धानको क्रममा फेला परेका ती सबै फर्मको बैंक खाता सञ्चालन मुख्य कारोबारी प्रदीप साहले नै गरी विभिन्न फर्मको नाममा झुटा तथा नक्कली बिक्री बीजक जारी गरी भ्याट तथा आयकर राजस्व चुहावट गरेको खुल्न आएको विभागले जनाएको छ । विभागले यी १० जना कारोबारीविरुद्ध कैद सजायसमेत माग गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७