ओली प्रतिनिधि सभाको हत्या गर्न घाँटी अठ्याएर बस्नु भएको छ : अध्यक्ष नेपाल


२१ पुष २०७७, मंगलवार
madhav nepal.

काठमाडौं, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै राजनीतिक शक्ति सडकमा उत्रिनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले लामो छलफल र बहसपछि संविधानबाट हटाइएको प्रधानमन्त्रीको विशेषाधिकारलाई केपी ओलीले सनकको भरमा प्रयोग गरेको बताए । उनले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध एक भएर आन्दोलनमा उत्रिनुपर्ने बताए ।

‘एक जनाको सनक, एक जनाको गलत व्याख्याको भरमा यो मुलुकको भविष्य वर्वाद पार्न पाइँदैन, सबै राजनीतिक दल सँगसँगै भएर सडकमा उत्रियो,’ अध्यक्ष नेपालले भने, ‘देशमा राजनीतिक स्थिरिता, गणतन्त्र, संघीयता र समावेशिता जोगाउने हो कि होइन ?’ उनले प्रधानमन्त्री ओली प्रतिनिधि सभाको हत्या गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले घाँटी अठ्याएर बसेको बताए । उनले असंवैधानिक कदमविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय जनमत एकतावद्ध भएको बताए ।

‘केपी शर्मा ओलीजीबाट जुन असंवैधानिक कदम चालिएको छ, प्रतिनिधि सभाको हत्या गर्न खोजिएको छ उहाँ प्रतिनिधि सभाको घाँटी अठ्याएको अठ्यायै हुनुहुन्छ’, उनले भने, ‘यसका विरुद्धमा सिंगो राष्ट्रिय र अन्तर्राष्ट्रिय जनमत एकतावद्ध छ ।’

उनले थपे, ‘हामीले विगतमा पनि मिलेर एउटा संकट टारेका थियौं, अहिले पनि एकै ठाउँमा उभिनुपर्ने आवश्यकता आएको छ,’ उनले भने । उनले सम्मानित सर्वोच्च अदालतको माननीय प्रधानन्यायाधीशले नेपालको संविधानविरुद्ध, संविधानमै नभएको गलत कदम चाल्नेलाई सही बाटो देखाउने विश्वास रहेको पनि बताएका छन् ।

उनले संविधान मिच्ने काम गरेका कारण ओलीलाई पार्टी अध्यक्षबाट हटाएर वैधानिक रुपमा दुई तिहाइ केन्द्रीय सदस्यले आफूलाई अध्यक्ष चयन गरेको बताए । उनले ओली संघीयता, गणतन्त्र र समावेशिताको पक्षमा नभएको आरोप लगाए । ‘उहाँलाई लोकतन्त्र मात्र होइन गणतन्त्र मन परेको छैन, उहाँ गणतन्त्र, संघीयता समावेशिता प्रेमी होइन’, उनले भने, ‘तर विडम्बना उहाँ अध्यक्ष पदमा आसीन हुनुभयो, हामी सबै टुलुटुलु हेर्न विवश भयौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७