काठमाडौं विश्वको सर्वाधिक प्रदूषित सहर, ९३ दिनयता वर्षात् नहुँदा सतहमै अड्किए प्रदूषित कण


२२ पुष २०७७, बुधबार
ktm polution scaled

काठमाडौं, २२ पुस । सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको एक्युआई चार सय तीनको आसपास छ । मौसमविद्हरूका अनुसार सोमबार रातिको एक्युआई स्तर हालसम्मकै उच्च हो ।

सोमबारदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएका धुलो तथा धुवाँका कण सतहमा थिग्रिएका छन् । सोहीकारण, वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।

उनीहरूका अनुसार मंगलबार काठमाडौं विश्वका सर्वाधिक प्रदूषित सहरको अग्रस्थानमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ एक्युआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा मुनि निर्धारण गरेको छ । अर्थात्, नेपालमा ५० देखि एक सयबीचमा रहेमा वायुको गुणस्तर सामान्य मानिन्छ । तर, सोमबारदेखि देशभरि नै वायु प्रदूषणले खतराको तह पार गरेको छ ।

एक्युआई तीन सय नाघेमा एक वर्षका लागि आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सोमबारको अभिलेखअनुसार एक्युआई विराटनगरमा दुई सय ५०, नेपालगन्जमा दुई सय २७, दाङमा एक सय ५२, ललितपुर भैंसेपाटीमा चार सय तीन, हेटौँडामा एक सय ६३, भक्तपुरमा दुई सय ७७, पोखरामा एक सय ९४, महेन्द्रनगरमा एक सय ९२ र काठमाडौंमा चार सय ८७ थियो । सोही अवधिमा कजकस्तानमा दुई सय ९६, भियतनाममा दुई सय ४१, ढाकामा दुई सय तीन मापन गरिएको छ । यो तथ्यांकबाट पनि काठमाडौंमा एक्युआई उच्च देखिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा १६ असोजमा मात्र वर्षा भएको थियो । त्यसयता वर्षा नभएकाले वायु प्रदूषण गराउने कण सतहमै थिग्रिएका छन् । १६ असोजमा पनि १५ मिलिमिटर मात्र वर्षात् भएको थियो, जुन एकदमै कम हो ।

नेपालको पश्चिमी भेगबाट भित्रिएको वायुका कारण पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भएकाले एक्युआई सन्तुलनमै छ । तथापि, वर्षा र हिमपात नभएका सबैजसो स्थानमा एक्युआईको स्तर सामान्यभन्दा बढी पाइएको छ । भौगोलिक अवस्थाका कारण अन्य स्थानमा एक्युआई बढ्नुलाई धेरै खतरनाक मानिँदैन ।

किनकि, काठमाडौं उपत्यकाबाहिर हावा चलिरहन्छ । काठमाडौंमा जब हावाको बहाव कम हुन्छ, वायु प्रदूषण पनि उच्च रहन्छ । मौसमविद्का अनुसार उपत्यकामा एक्युआई कम हुन वर्षात् हुनुपर्छ, हावा चल्नुपर्छ या घाम लाग्नुपर्छ । पछिल्ला दिनमा उपत्यकामा न त वर्षात् भएको छ, न हावा चलेको छ, न घाम नै पर्याप्त मात्रामा देखिएको छ ।

मौसमविद् ऋषिराम शर्माका अनुसार दुई दिनदेखि घाम नलागेका कारण उपत्यकाको सतह चिसो छ र हावा नचलेका कारण वायुमण्डलबाट धुलोका कण पनि उपत्यकाबाट बाहिरिन पाएका छैनन् । सोही कारण सतहमा रहेको प्रदूषण सतहमै रोकिएको छ । ‘दुई दिनसम्म घाम नलागे पनि काठमाडौंमा न्यूनतम तापक्रम भने घटेको छैन, बरु पहिलेभन्दा बढेको छ,’ मौसमविद् शर्मा भन्छन् ।

१६ पुसमा काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव आठ डिग्री मापन गरिएको थियो, जुन मंगलबार नौ डिग्री सेल्सियस छ । तापक्रम बढेसँगै काठमाडौंको वायु प्रदूषण पनि ह्वात्तै बढेको शर्मा बताउँछन् । उनका अनुसार मंगलबार सतहभन्दा वायुमण्डलको तापक्रम बढी छ । यस्तो अवस्थामा उद्योगधन्दा, सवारीसाधन र आगो बालेर निस्केको धुवाँलगायतबाट निस्केका प्रदूषित कण सतहमै जम्मा भएर बस्छन् ।

वर्षात् या बादल फाटेमा मात्र एक्युआईमा सुधार
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि बादल हट्ने सम्भावना छ । र, घामका किरण सतहमा पर्याप्त मात्रामा आएर प्रदूषणको मात्रा कम हुने अनुमान छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७